सिरहा । सिरहाको मिर्चैया नगरपालिका–६ स्थित स्वस्तिक पाठशालाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै मधेश प्रदेशमै आफ्नो शैक्षिक पहिचान मजबुत बनाएको छ । विद्यालयले शुक्रबार आयोजना गरेको “एसईई २०८२ सम्मान तथा शुभकामना कार्यक्रम” मार्फत उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा उनीहरूका अभिभावकलाई सम्मान गरेको हो ।
“आकाश छेड, भुईँ नछोड” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा विद्यालयले यस वर्षको एसईई नतिजालाई उल्लेखनीय उपलब्धिका रूपमा सार्वजनिक गरेको थियो । विद्यालयका अनुसार ७ जना विद्यार्थीले ४.० जिपिए हासिल गरेका छन् भने ६ जनाले ३.९५, ५ जनाले ३.९१ र ३ जनाले ३.९० जिपिए प्राप्त गरेका छन् । यससँगै कुल २१ जना विद्यार्थीले ३.९० भन्दा माथिको जिपिए ल्याएका छन् ।
कार्यक्रम विद्यालयका संस्थापक महेश्वर बहादुर कार्कीको सभापतित्व तथा मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा शिक्षा शाखा प्रमुख भरत कुमार बानियाँ, शिक्षा अधिकृत ओमप्रकाश ठाकुर, सञ्चारकर्मी, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
विद्यालयका प्रिन्सिपल लक्ष्मण गिरीले अघिल्लो वर्षको तुलनामा यस वर्ष अझ राम्रो नतिजा आएको बताए । उनले शिक्षक, विद्यार्थी र अभिभावकबीचको समन्वय तथा मेहनतका कारण विद्यालयले उत्कृष्ट सफलता हासिल गरेको उल्लेख गरे ।
विद्यालयका अनुसार ४.० जिपिए प्राप्त गर्ने विद्यार्थीहरूमा आदर्श कुमार यादव, अभिनव ज्ञानशेखर साह, अनिल कुमार साह, दिव्यानी चौधरी, हेडेन राज धामी, निरज साह र सबल कटुवाल रहेका छन् ।
त्यस्तै ३.९५ जिपिए प्राप्त गर्ने विद्यार्थीहरूमा आयुष कुमार साह, हलिमा शेख, कोस्टा रोय विक्रम साह, नमन कुमार चौधरी, रितु कुमारी मण्डल र श्रेया सिंह रहेका छन् ।
३.९१ जिपिए प्राप्त गर्ने विद्यार्थीहरूमा अभिषेक महासेठ, अमन कुमार शर्मा, ओमप्रकाश यादव, साजन शर्मा र सुजल साह रहेका छन् भने ३.९० जिपिए ल्याउने विद्यार्थीहरूमा आकृति कुमारी साह, नन्दनी कुमारी साह र नेहा यादव रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि मेयर श्रवण कुमार यादवले विद्यार्थीहरूलाई अनुशासन, मेहनत र सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे ।
विद्यार्थीहरूको तर्फबाट सबल कटुवाल तथा अनुष्का साहले अध्ययन अनुभव साझा गर्दै आगामी ब्याचका विद्यार्थीलाई समय व्यवस्थापन र निरन्तर अभ्यासमा ध्यान दिन सुझाव दिएका थिए ।
विद्यालय प्रशासनले आगामी दिनमा अझ गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजाका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ ।




