जनकपुरधाम । मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्नेमा जनमत पार्टीमा दुई धार देखिएको छ । जसका कारण प्रदेश प्रमुखको कार्यालयमा जनमतका परस्पर विरोधी दुईवटा पत्र पुगेका छन् ।
प्रदेशसभामा जनमत पार्टीका प्रमुख सचेतक चन्दनकुमार सिंहले सरकारबाट सर्मथन फिर्ता लिएको खबर सार्वजनिक भएसँगै समर्थन कायम रहिरहेको अर्को पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगेको छ ।

प्रदेशसभास्थित जनमत पार्टीको संसदीय दलका नेता तथा अर्थमन्त्री महेशप्रसाद यादवले सरकारलाई दिएको सर्मथन कायमै रहेको पत्र प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई पठाएका हुन् । गए राति सचेतक सिंहले पनि प्रदेश प्रमुखको कार्यालयमा सरकारबाट सर्मथन फिर्ता लिने पत्र पठाएका थिए ।
सिंहको सोही पत्रलाई काउन्टर दिँदै दलका नेता यादवले पत्र पठाएका हुन् । “मेरो जानकारी तथा मैले नबोलाएको संसदीय दलको बैठकबिनाको कुनै पनि निर्णय अधिकारिक नरहेकाले वर्तमान मधेस प्रदेश सकारको मुख्यमन्त्री कृष्णप्रसाद यादवको नेतृत्वको सरकारलाई जनमत पार्टीको अधिकारिक समर्थन रहीरहेको” पत्र पठाएका छन् ।
प्रदेश प्रमुख कार्यालयका सचिव नारायणप्रसाद दहालले दुईवटा पत्र आएको पुष्टि गरे । “दुईवटा पत्र आएको छ । एउटा पत्रमा सरकारबाट सर्मथन फिर्ता लिएको र अर्कोमा सर्मथन कायम रहेको व्यहोरा छ,” उनले भने, “हामी त्यही छलफलमा छौँ । कानुन संविधान हेर्दै छौँ । विज्ञसँग पनि सल्लाह गर्छौं । अनि कानुनअनुसार काम अगाडि बढ्छ ।”
स्रोतका अनुसार सचेतक सिंहले ९ जना सांसदको सर्मथनमा पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतसँगको सल्लाहमा सरकारबाट सर्मथन फिर्ता लिने पत्र पठाएका थिए । यसअघि जनमतले आफ्नै पार्टीका सतीशकुमार सिंह नेतृत्वको सरकार ढालेको थियो ।




