रुपन्देही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत धानखोला–लमही सडक खण्डको स्तरोन्नति सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार सडक खण्डको शिलान्यास गरेका छन् । यस सडक स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र सुपरपेभ आस्फाल्ट जस्ता अत्याधुनिक प्रविधि प्रयोग गरिँदैछ । यी प्रविधिले पुराना सामग्री पुनःप्रयोग गर्दै सडकलाई बलियो, टिकाउ र वातावरणमैत्री बनाउने बताइएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत धानखोला–लमही सडक खण्डको स्तरोन्नति हुने भएको छ ।   यसबाट दीर्घकालीन रूपमा लागत घट्ने र सडक मर्मतको गुणस्तर बढ्ने अपेक्षा गरिएको छ । आयोजना अन्तर्गत सडकको दुवैतर्फ सात मिटर चौडा क्यारिज वे र साढे दुई–दुई मिटर सोल्डर निर्माण गरी कुल १२ मिटर चौडाइ कायम गरिनेछ ।

यो खण्ड करिब ४० किलोमिटर लामो छ । मुख्यमन्त्री आचार्यले अत्याधुनिक प्रविधिको प्रयोग सराहनीय भएको बताए । यस सडक स्तरोन्नतिले यात्रालाई सुरक्षित र भरपर्दो बनाउनुका साथै स्थानीय व्यवसाय, कृषि र उद्यममा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे । उनले स्थानीयको अपेक्षाअनुसार सडक सुधार र स्तरोन्नतिको काम समयमै सक्न आग्रह गरे ।

नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले नेपाल–अमेरिका साझेदारीको महत्वपूर्ण उदाहरणका रूपमा यस आयोजनालाई लिनुपर्ने बताए । ढुवानी लागत घटाउने, सडक सुरक्षा अभिवृद्धि गर्ने र स्थानीय समुदायलाई बजारसँग जोड्ने लक्ष्यमा यो परियोजना केन्द्रित रहेको उनले जनाए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव सुशील बाबु ढकालले एमसिए–नेपालको लगानी सरकारका योजना तथा कार्यक्रमको पूरकका रूपमा रहेको बताए । ठेकेदार शर्मा–कुमार जेभीका प्रतिनिधि शौरभ शर्माले निर्धारित समयभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सडक खण्ड स्तरोन्नतिका लागि सन् २०२४ अक्टोबर ३० मा बोलपत्र आह्वान गरिएको थियो । निर्माणको जिम्मा शर्मा–कुमार जेभीले पाएको छ । गत पुस ७ गते एमसिए–नेपाल र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । सम्झौताअनुसार आयोजनाको निर्माण कार्य २४ महिनाभित्र सम्पन्न गर्नुपर्नेछ । निर्माण कम्पनीले भ्याटबाहेक करिब तीन अर्ब रुपैयाँमा ठेक्का पाएको छ ।

नेपाल सरकारको मापदण्डअनुसार स्तरोन्नति गरिने सडकमा गाडी गुड्ने भाग ७ मिटर चौडा र दुवैतर्फ २.५–२.५ मिटर कालोपत्रे सोल्डर रहने गरी कुल १२ मिटर चौडाइ कायम गरिनेछ ।

उक्त सडक खण्डमा प्रयोग हुने फूल–डेप्थ रिक्लेमेशन र सुपरपेभ प्रविधिअन्तर्गत सडकमा प्रयोग भएका अधिकांश पुराना निर्माण सामग्री प्रशोधन गरी पुनः प्रयोग गर्न सकिनेछ । यसअन्तर्गत बालुवा, गिट्टीलगायत सामग्रीलाई पुनः प्रयोग गर्दा लागत घट्नुका साथै वातावरणीय प्रभाव पनि न्यून हुन्छ । यस प्रविधिबाट निर्माण गरिने सडक थप बलियो, टिकाउ र जलवायुमैत्री हुने दावी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय