काठमाडौँ- उदयपुरका ७३ वर्षीय एक वृद्धले छिमेकीको हत्या गरेका छन्। गएराति सवा आठ बजेतिर चौदण्डीगढी नगरपालिका ७ सितापाइला टोल बस्ने ७३ वर्षीय रामप्रसाद राईले सोही ठाउँका ६४ वर्षीय माहाशेर राईको हत्या गरेका प्रहरीले जनाएको छ।
राईद्वय छिमेकी हुन्। छरछिमेक सम्बन्धि बिबादका क्रममा रामप्रसादले आवेगमा धारिलो हतियार प्रहार गर्दा माहाशेरको मत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। धारिलो हतियार प्रहारबाट छातीको दाँया पट्टिको माथिल्लो भागमा गहिरो चोट लागेका उनलाई उपचारको लागि नगर अस्पताल बेल्टारमा लैजाँदा बाटोमै मृत्यु भएको हो।

अस्पताल पुर्याउँनासाथ डाक्टरले उनको बाटोमै मृत्यु भएको पुष्टि गरेका थिए। हत्या आरोपमा रामप्रसाद राईलाई इलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी निरीक्षक प्रभात लक्सम लिम्बू नेतृत्वको टोलीले तत्कालै पक्राउ गरेको छ।
उनलाई इप्रका बेल्टारको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको इन्सपेक्टर लिम्बूले जानकारी दिए।



