नुवाकोट। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमा फैलिने सूचनाको सत्यता पुष्टि गरेर मात्र विश्वास गर्नुपर्ने बताएका छन्।

लिखु गाउँपालिका–६ छहरे बजारमा स्थानीयसँग भेटघाटका क्रममा मन्त्री तिमिल्सिनाले हालै सरकारका मन्त्रीलाई नयाँ मोबाइल फोन वितरण गर्ने तयारी भइरहेको भन्ने समाचार पूर्ण रूपमा गलत र भ्रामक भएको स्पष्ट गरे।उनका अनुसार यस्ता गलत सूचनाले सरकारप्रति अनावश्यक भ्रम र अविश्वास फैलाउने प्रयास भइरहेको छ। उनले नागरिकलाई कुनै पनि सूचना सेयर गर्नु अघि स्रोत र आधिकारिकता जाँच गर्न आग्रह गरे।

मन्त्री तिमिल्सिनाले सरकार जनताको करको सही सदुपयोगमा प्रतिबद्ध रहेको भन्दै अनियमितता वा दुरुपयोग देखिएमा नागरिकले खबरदारी गर्नुपर्ने बताए।

उनले सरकार शून्य सहनशीलताको नीतिमा अघि बढिरहेको उल्लेख गर्दै भ्रष्टाचार वा पदको दुरुपयोग देखिए तत्काल छानबिन र कारबाही हुने बताए।

सञ्चारमन्त्रीका अनुसार सरकारको प्राथमिकता सुशासन, सेवा प्रवाह सुधार र पूर्वाधार विकासमा केन्द्रित छ। विकास क्रमिक प्रक्रिया भएकाले तत्काल चमत्कारको अपेक्षा नगर्न पनि उनले आग्रह गरे।

सरकारले गाउँ–गाउँ पुगेर नागरिकका समस्या सुनेर नीति निर्माण गर्ने लक्ष्य राखेको पनि उनले जानकारी दिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय