शुभ नारायण कामती
सिरहा । नेपाली सेना द्वारा आयोजना गरिएको “भू.पू. सैनिक सम्मेलन–२०८२” सिरहाको चोहर्वास्थित श्री नन्दाबक्स गण (उप–सम्मेलन केन्द्र) ब्यारेकमा सम्पन्न भएको छ । “प्रण–पूनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन” भन्ने मूल भावसहित आयोजित सम्मेलनमा सिरहा र सप्तरी जिल्लाका पेन्सनभोगी भू.पू. सैनिक तथा आश्रित परिवारसहित करिब ४८० जनाको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रम आज बिहीबार बिहान ८ बजेदेखि सुरु भई विभिन्न अन्तरक्रिया, छलफल तथा परामर्श सत्रपछि सम्पन्न भएको हो । श्री नं. २७ वाहिनी अड्डा का वाहिनीपति सहायक रथी नारायण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले भू.पू. सैनिकहरूबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै उनीहरूको सामाजिक तथा आर्थिक सुरक्षाका विषयमा केन्द्रित छलफल अघि बढाएको आयोजकले जनाएको छ ।
सम्मेलनका क्रममा मुख्य कार्यक्रम श्री मध्य पूर्वी पृतना मुख्यालय बाट सञ्चालन गरिएको थियो । सो अवसरमा प्रमुख अतिथि प्रधान सेनापति महारथी अशोक राज सिग्देलले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै भू.पू. सैनिकहरूको योगदानको उच्च प्रशंसा गरे । उनले राष्ट्रको सुरक्षा, स्थायित्व र विकासमा पूर्व सैनिकहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूको हक–हित संरक्षण तथा कल्याणकारी कार्यक्रमलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा अशक्त तथा असहाय भू.पू. सैनिक र आश्रित परिवारलाई लक्षित गर्दै ह्वीलचेयर, बैशाखी र ब्लाइन्ड स्टिक लगायतका सहायक सामग्री वितरण गरिएको थियो । यसका साथै सैनिक कल्याणकारी निर्देशनालय मार्फत उपलब्ध गराइएका अन्य सहयोग सामग्रीहरू पनि सहभागी हिताधिकारीहरूलाई हस्तान्तरण गरिएको जनाइएको छ ।
सम्मेलनले भू.पू. सैनिकहरूका समस्या, आवश्यकता र अवसरहरूबारे प्रत्यक्ष संवाद गर्ने महत्वपूर्ण मञ्चका रूपमा काम गरेको सहभागीहरूले बताएका छन् । विशेषतः स्वास्थ्य सेवा, सामाजिक सुरक्षा, पेन्सन व्यवस्थापन र आत्मनिर्भरता अभिवृद्धिसम्बन्धी विषयमा विचार आदान–प्रदान भएको थियो ।
सहभागीहरूको भनाइमा यस्ता कार्यक्रमले पूर्व सैनिकहरूको अनुभव, सीप र योगदानलाई समाजसँग पुनः जोड्ने अवसर प्रदान गर्नुका साथै राष्ट्रिय एकता, सामाजिक सद्भाव र समुदायस्तरीय सहकार्यलाई समेत सुदृढ बनाउँछ ।
नेपाली सेनाले देशभर नियमित रूपमा आयोजना गर्दै आएका यस्ता सम्मेलनहरू पूर्व सैनिकहरूको सम्मान, पुनर्संलग्नता र कल्याणकारी सेवाको विस्तारका दृष्टिले महत्वपूर्ण मानिन्छन् । साथै, दीर्घकालीन रूपमा सैनिक कल्याण कोषको दिगोपन सुनिश्चित गर्दै लाभग्राहीहरूको जीवनस्तर उकास्ने उद्देश्यसमेत यसमा निहित रहेको छ ।
यस प्रकारका कार्यक्रमले राज्य र पूर्व सैनिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै समावेशी तथा उत्तरदायी सुरक्षा प्रणाली निर्माणमा सकारात्मक योगदान पु¥याउने अपेक्षा गरिएको छ ।




