सिरहा । तराई–मधेश क्षेत्रमा आज परम्परागत रूपमा ‘जुडशीतल’ पर्व हर्षोल्लासका साथ मनाइँदैछ । प्रकृति, स्वास्थ्य र सामाजिक सद्भावसँग गहिरो सम्बन्ध रहेको यस पर्वलाई मधेशमा नयाँ वर्षको रूपमा विशेष महत्त्वका साथ मनाउने गरिन्छ भने थारू समुदायले यसै पर्वलाई ‘सिरूवा’ नामले मनाउने परम्परा रहेको छ ।
जुडशीतल शब्द दुई भाग ‘जुड’ र ‘शीतल’ मिलेर बनेको हो । ‘जुड’ ले जुराउनु वा आशीर्वाद दिने भाव जनाउँछ भने ‘शीतल’ ले शान्ति, चिसोपन र सन्तुलनको अर्थ दिन्छ । त्यसैले यस पर्वको मूल सन्देश जीवनमा शीतलता, स्वास्थ्य र कल्याणको कामना गर्नु हो ।
यस अवसरमा घरपरिवारका ज्येष्ठ सदस्यले आफूभन्दा सानालाई टाउकोमा पानी छर्केर आशीर्वाद दिने चलन छ । बिहानै उठेर परिवार तथा आफन्तबीच एक–अर्कालाई शीतलता र दीर्घायुको कामना गर्दै आशीर्वाद आदान–प्रदान गरिन्छ ।
वैशाख महिनादेखि गर्मी बढ्न सुरु हुने भएकाले यो पर्वलाई प्रकृतिसँग सन्तुलन कायम गर्ने प्रतीकात्मक अभ्यासका रूपमा पनि लिइन्छ । मानवमात्र नभई रुख–बिरुवा, घर–आँगन र पशुपक्षीको समेत कल्याणको कामना गर्दै पानी सिञ्चन गर्ने परम्परा रहेको छ । घरका दैलो तथा मूल खम्बामा पानी छर्कने चलनले समग्र घरपरिवारमा शीतलता र समृद्धि कायम रहोस् भन्ने विश्वास व्यक्त गर्छ ।
यस पर्वमा हिलो तथा माटो खेल्ने प्रचलन पनि विशेष रूपमा देखिन्छ । शरीरमा हिलो दल्ने कार्यलाई प्राकृतिक उपचार (पङ्क स्नान) सँग जोडेर हेरिन्छ, जसले गर्मीयाममा हुने सम्भावित रोगबाट जोगाउने विश्वास गरिन्छ । साथै, कृषि संस्कृतिसँग जोडिएको यो अभ्यासले भूमिसँगको सम्बन्धलाई पनि प्रतिविम्बित गर्छ ।
खानपानका दृष्टिले पनि जुडशीतलको आफ्नै विशेषता छ । अघिल्लो दिन पकाइएको परिकार भोलिपल्ट खाने चलन रहेको छ, जसले ‘शीतल भोजन’ को परम्परालाई झल्काउँछ । यस दिन तरुवा, बरी (बेसनबाट बनाइने परिकार), दही, सजिवन (सोहिजन) को तरकारी, साथै बासी भात प्रमुख रूपमा खाने गरिन्छ । यी परिकारहरू कूलदेवतालाई नैवेद्यका रूपमा अर्पण गर्ने चलन पनि रहिआएको छ ।
कतिपय स्थानमा यस अवसरमा पहलमानी प्रतियोगिता, चङ्गा उडाउने लगायतका सांस्कृतिक गतिविधि आयोजना गर्ने परम्परा समेत रहेको छ, जसले सामुदायिक एकता र मनोरञ्जनलाई थप जीवन्त बनाउने गर्दछ ।
तराई–मधेशका विभिन्न जातजाति र समुदायले साझा रूपमा मनाउने यो पर्वले आपसी सद्भाव, सहकार्य र सामाजिक एकताको सन्देश दिने गरेको छ । बदलिँदो समयसँगै परम्परामा केही परिवर्तन देखिए पनि जुडशीतलले प्रकृति, संस्कृति र स्वास्थ्यबीचको सम्बन्धलाई जीवन्त राख्दै आएको छ ।
यसरी शीतलता, सहअस्तित्व र समृद्धिको कामना गर्दै मनाइने जुडशीतल पर्व तराई–मधेशको मौलिक सांस्कृतिक पहिचानका रूपमा स्थापित रहँदै आएको छ ।




