सिरहा । सिरहा नगरपालिकामा कार्यालय सहयोगीमाथि कुटपिट भएको आरोपसँगै चर्किएको विवाद आंशिक रूपमा समाधानतर्फ उन्मुख भएको छ । मंगलबारदेखि जारी कर्मचारी आन्दोलन स्थगित भएसँगै अवरुद्ध सेवा आइतबारदेखि पुनः सञ्चालनमा आएको छ ।
कार्यालय सहयोगी रामशरण यादवमाथि कुटपिट भएको विरोधमा कर्मचारीहरूले आन्दोलन गरेका थिए । आन्दोलनका कारण नगरपालिका, वडाकार्यालय तथा स्वास्थ्य चौकीहरूको सेवा ठप्प हुँदा सेवाग्राही प्रभावित भएका थिए ।
पीडित रामशरण यादवका अनुसार चैत २३ गते बिहान हाजिरीका क्रममा नगर प्रमुख नवीन कुमार यादवले कुटपिट गरेका थिए । उनी विगत २४ वर्षदेखि स्वास्थ्य शाखामा काजमा कार्यरत छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी वासुदेव पाठकले घटनामा अभद्र व्यवहार मुद्दा दर्ता गरी मेयरविरुद्ध पक्राउ अनुमति लिइसकिएको जानकारी दिए ।
उनले भने, “पीडितको शरीरमा चोट देखिएको छ, सोही आधारमा अनुसन्धान अघि बढाइएको हो ।”
प्रहरीका अनुसार घटनामा संलग्न रोहित कुमार मेस्तरलाई नियन्त्रणमा लिइएको छ भने मेयर सम्पर्कबाहिर रहेका थिए ।
घाइते यादवको छातीका हड्डी भाँचिएको र उनलाई थप उपचारका लागि काठमाडौं लगिएको परिवारले जनाएको छ ।
जनस्वास्थ्य अधिकृत मो. इद्रिस राइनका अनुसार प्रमुख जिल्ला अधिकारीको विशेष निर्देशन, आग्रह र शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै आन्दोलन हालका लागि स्थगित गरिएको हो ।
उनले भने, “आन्दोलन पूर्ण रूपमा टुङ्गिएको होइन । पीडितले न्याय नपाएसम्म खबरदारी जारी रहनेछ ।”
यता, मेयर यादवले भने आरोप अस्वीकार गर्दै कर्मचारी आफैं लडेर घाइते भएको दाबी गरेका छन् ।
सम्बन्धित पक्षबीच सहमति भएपछि कर्मचारीहरू काममा फर्किएका छन् र सेवा प्रवाह पुनः सुरु भएको नगरपालिकाले जनाएको छ ।
आन्दोलनका कारण नागरिकता सिफारिस, योजना भुक्तानी तथा राजस्व संकलनलगायतका सेवा प्रभावित भएका थिए ।
नगरपालिकाले घटनाबारे छानबिन र कानुनी प्रक्रिया अगाडि बढाइने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय