शुभ नारायण कामती
सिरहा । सरकारले हुलाक सेवालाई आधुनिक बनाउँदै सवारी चालक अनुमतिपत्र (लाइसेन्स), राहदानी (पासपोर्ट) लगायतका अत्यावश्यक सरकारी कागजात अब सेवाग्राहीको घरदैलोमै पु¥याउने व्यवस्था सोमवार देखि सुरु गरेको छ । देशभरका ७७ जिल्लामध्ये पहिलो पटक यो सेवा सिरहा जिल्लाबाट सुरु गरिएको हो । गत चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअन्तर्गत ‘गभर्नमेन्ट कूरियर सर्भिस’ अवधारणा अघि सारिएको हो । उक्त कार्यसूचीको बुँदा नम्बर २७ मा हुलाक सेवालाई आधुनिकीकरण गर्दै पासपोर्ट, नागरिकता प्रतिलिपि, लाइसेन्स लगायतका सरकारी कागजात घरमै पु¥याउने व्यवस्था १०० दिनभित्र लागू गर्ने उल्लेख छ ।
राहदानी विभाग र यातायात व्यवस्था विभागले यस सेवाको कार्यान्वयनमा कुनै अवरोध नरहेको जनाएका छन् । हुलाक सेवा विभागले पनि आवश्यक स्रोत–साधन उपलब्ध गराइए सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने जनाएको छ ।
यसैबीच, सेवा कार्यान्वयनको सुरुवातस्वरूप सिरहामा पहिलो सेवाग्राहीका रूपमा नरहा गाउँपालिका–१ गौरहाका अजय कुमार यादवले हुलाकमार्फत घरमै पासपोर्ट बुझ्ने प्रयोजनका लागि सोमवार फारम भरेका छन् । जिल्ला हुलाक कार्यालय सिरहाका प्रमुख रामकिशोर महतोका अनुसार यो सेवा विस्तारमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालको विशेष भूमिका रहेको छ ।
सरकारले यस सेवामार्फत सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गर्ने, समय र लागत बचत गर्ने तथा सार्वजनिक सेवामा पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ ।




