वासिङ्टन डीसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसबाट इरान युद्धबारे सम्बोधन गरेपछि विश्व बजारमा कच्चा तेलको मूल्य बढेको छ।बीबीसीले जनाए अनुसार ट्रम्पले सम्बोधन सुरु गर्नुअघि ‘बेन्चमार्क ब्रेन्ट क्रुड’ को मूल्य प्रतिब्यारेल करिब १०० डलर थियो। भाषणको दौरान मूल्यमा केही उतारचढाव देखिए पनि सम्बोधन सकिएपछि मूल्य बढ्ने क्रम जारी छ। हाल तेलको मूल्य ४ प्रतिशतले बढेर प्रतिब्यारेल १०५।३८ डलर पुगेको छ।
राष्ट्रपति ट्रम्पले रणनीतिक रूपमा निकै महत्त्व मानिने ‘होर्मुज स्ट्रेट’का बारेमा कुनै नयाँ घोषणा गर्न सक्ने अपेक्षा गरिएको थियो। तर, यसबारे कुनै ठोस अपडेट नआएपछि बजारमा तेलको मूल्य अझै उकालो लागेको हो।

होर्मुज स्ट्रेट विश्व अर्थतन्त्रका लागि मेरुदण्ड मानिन्छ। विश्वको कुल ऊर्जा व्यापारको करिब २० प्रतिशत हिस्सा यही साँघुरो समुद्री मार्ग भएर हुने गर्दछ। गत फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि यो मार्ग लगभग ठप्प छ। इरानले आफूमाथि भएको अमेरिकी र इजरायली हवाई हमलाको जवाफमा यस मार्गबाट यात्रा गर्ने जहाजहरूमाथि आक्रमण गर्ने धम्की दिएपछि यो क्षेत्र तनावपूर्ण बनेको छ।



