काठमाडौं : मादकपदार्थ र लागुपदार्थ सेवन गरेर सवारी चलाउने चालकहरूप्रति ट्राफिक प्रहरीले निगरानी बढाएको छ। उपत्यकामा बढ्दै गरेको दुर्घटना न्यूनीकरण गर्नको लागि उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाले सवारी चेकजाँचमा कडाइ गरेको हो। नियमित चेकजाँचका अलावा थप ड्युटी थपेर सडकमा निगरानी बढाएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीका अनुसार सवारी चालकले ट्राफिक नियम उल्लंघन गर्दा धेरै दुर्घटना हुन्छ। विद्यालयको सवारीसाधन चलाउने चालकले समेत मापसे र लापसे गरेर सवारीसाधन चलाउने गर्छन्। यो अति संवेदनशील विषय हो। मंगलबार मात्रै प्रहरी चेकजाँचका क्रममा लागुपदार्थ सेवन गरेर सवारी चलाउने ६ जना चालक पक्राउ परेका छन्। उनीहरूलाई ललितपुरको सुनाकोठीबाट नियन्त्रणमा लिइएको हो। जसमा मिनीट्रक चालक २ जना, मोटरसाइकल (राइड सेयरिङ) चालक २ जना र स्कुटर चालक २ जना रहेका छन्।

नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीसहितको सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र ट्राफिक प्रहरी प्रभाग चापागाउँको संयुक्त टोलीले चेक गर्दा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाइरहेको अवस्थामा ६ जना चालक फेला परेका थिए।

यात्रु बोक्नेजस्तो संवेदनशील सवारीसाधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउनु आफंैमा नियमविपरीत तथा दण्डनीय कार्य हो।

यस्तै, यान्त्रिक अवस्था बिग्रिएको सवारीसाधन चलाउने ३७ जना चालक ट्राफिक कारबाहीमा परेका छन्। काठमाडौंको कलंकी ढुंगेअड्डामा गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठीक नभएका ३७ वटा सवारीसाधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो।

ट्राफिक कार्यालयका अनुसार, ५५ ओटा सवारीसाधन चेक गर्दा ह्यान्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएकालगायत अवस्था ठीक नभएका ३७ वटा सवारीसाधनका चालकलाई कारबाही गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय