काठमाडौं । इजरायलले दक्षिण लेबनानका ५२ बस्ती खाली गर्न आदेश जारी गरेको छ । र, हिजबुल्लाहलाई निसाना बनाउने योजनाको पुष्टि गरेको छ ।
सोमबार बिहानै हिजबुल्लाहले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेपछि इजरायल रक्षा बल (आईडीएफ)ले आफ्ना निसानामा आक्रमण गरिरहेको घोषणा गरेको छ । “इजरायली रक्षा बल तपाईंहरूलाई हानि पुर्याउन चाहँदैन,” लेफ्टिनेन्ट कर्नेल एला वावेयाले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

उनले अगाडि लेखेका छन्, “तपाईंको सुरक्षाका निम्ति, तपाईंहरूले तुरुन्तै आफ्नो घर खाली गर्नुपर्छ र गाउँहरूबाट कम्तीमा एक हजार मिटर टाढा खुला क्षेत्रतर्फ जानुपर्छ । जो कोही हिजबुल्लाह लडाकुहरू, उनीहरूका केन्द्र वा युद्ध सामग्रीको नजिक हुनुहुन्छ, उहाँहरूले आफ्नो ज्यान जोखिममा पारिरहनुभएको छ ।”
लेबनानी राज्य सञ्चारमाध्यमका अनुसार, हालसम्म कम्तीमा चार गाउँमा आक्रमण भइसकेको छ ।
इजरायली सैन्य कारबाहीका कारण लेबनानमा व्यापकस्तरमा विस्थापन हुनु नौलो होइन, जसका कारण हजारौँ मानिस घरबारविहीन हुने गरेका छन् ।
सन् २०२४ नोभेम्बरमा अमेरिकाको मध्यस्थतामा भएको युद्धविरामका बाबजुद इजरायलले हिजबुल्लाहले सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै लेबनानमा आफ्ना आक्रमण जारी राखेको छ ।
सरकारी स्वामित्वको नेसनल न्युज एजेन्सीका अनुसार, लेबनानी सरकारले सोमबार बिहान स्थानीय समयानुसार ८ बजेका निम्ति आकस्मिक बैठक बोलाएको छ ।
इजरायली सेनाले दक्षिणका ५२ बस्ती खाली गर्ने आदेश दिएपश्चात् र हिजबुल्लाहमाथि आक्रमणको पुष्टि गरेपछि लेबनानको राजधानी बेरुतका केही विद्यालयले विस्थापितका निम्ति आफ्नो ढोका खोलेका छन् ।
त्यहाँका बासिन्दाले आफ्नो फोनमा घर खाली गर्नेसम्बन्धी जानकारीमूलक कल प्राप्त गरिरहेका जनाइएको छ ।




