सिरहा । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सिरहा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच चुनावी सहकार्य गर्ने सहमति भएको छ ।
शुक्रबार भएको समझदारीअनुसार डा. बाबुराम भट्टराई संरक्षक रहेको प्रलोपाले सो क्षेत्रमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो । रास्वपाका तर्फबाट शिव यादव प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।
प्रलोपाका केन्द्रीय सदस्य तथा सिरहा जिल्ला इन्चार्ज अरविन्द यादवका अनुसार जनताको हित, सुशासन, लोकतान्त्रिक मूल्यमान्यता र परिवर्तनमुखी राजनीतिक अभ्यासलाई सुदृढ बनाउन रास्वपालाई समर्थन गरिएको हो । “यो सहकार्य पार्टीको केन्द्रीय निर्णयभन्दा पनि जिल्ला र क्षेत्रका नेता तथा कार्यकर्ताको भावना अनुसार भएको हो,” उनले बताए ।
सहमति अनुसार प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवारलाई समर्थन गरिनेछ भने समानुपातिकतर्फ दुवै दलले आफ्ना–आफ्नै चुनाव चिह्नमा मतदान गर्ने समझदारी भएको जनाइएको छ ।
रास्वपाका उम्मेदवार शिव यादव र प्रलोपाका नेता अरविन्द यादवले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहकार्य घोषणासँगै प्रतिस्पर्धाभन्दा सहयात्राको भावना लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ । सहकार्य पक्षले “यो जित कुनै एक दलको नभई सिरहा–२ का जनताको हुनेछ” भन्ने विश्वास व्यक्त गरेका छन् ।




