जनकपुरधाम । राष्ट्रिय मुक्ति पार्टी नेपालले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनुषा क्षेत्र नं. ३ बाट पार्टी अध्यक्ष राजेन्द्र महतो र उपाध्यक्ष राजीव झाको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ।

धनुषा जिल्ला अध्यक्ष राजेश चौधरी ‘राजु’ को अध्यक्षतामा बसेको जिल्ला कार्यसमितिको बैठकले उनीहरूको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो।

जिल्ला समितिले उपाध्यक्ष झाले उम्मेदवारी दिने तयारी गरे पनि पार्टी अध्यक्षप्रति सम्मानस्वरूप पार्टी अध्यक्ष महतोको नाम पनि सिफारिस गरेको जनाइएको छ।

धनुषा ३ मा अध्यक्ष महतो उम्मेदवार बन्न चाहेको खण्डमा उनलाई समर्थन गर्ने झाले बताए।

महतो २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा धनुषा ३ बाट निर्वाचित भएका थिए। उनले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गरेका थिए।

२०७९ को निर्वाचनमा महतो सर्लाहीबाट लडदा पराजित भएका थिए भने धनुषा ३ मा नेकपा एमालेकी जुलीकुमारी महतो निर्वाचित भएकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय