
सिरहा । तिहार र छठका लागि जिल्लाको सीमापारि बजारमा सामान ल्याउन जाने नेपालीहरूले एक सय भारुको लागि रु एक सय ६६ नेपाली तिर्दै आएका छन् ।
नेपाली ग्राहकसँग भारतीय रुपैयाँ नरहेका कारण भारतीय बजारमा मालवस्तु खरिद गर्दा सयकडा छ रुपैयाँ बट्टा (कमिशन) तिर्नुपरेको सिरहा नगरपालिका–१२ का ग्राहक मनोज कुमार मण्डलले बताएकाछन् ।
सिरहासँग सीमा जोडिएको भारतीय बजार जयनगर, लदनीया, ठाढीका बजारमा अहिले नेपाली ग्राहक चाडबाडको किनमेल गर्न पुगिरहेका अवस्थामा भारतीय व्यापारीले मनपरी ढङ्गले नेपाली पैसामा बट्टा (कमिशन) लिएर मालवस्तु दिने गरेको बिष्णुपुर गाउँपालिका–७ का ग्राहक नागेन्द्र कामतीले बताएकाछन् । उनले भारतीय बजारमा नेपाली पैसालाई भारतीय पैसासँग साट्दा भारु एक सयको बदलामा नेपाली रु एक सय ६६ र बढीमा एक सय ६८ सम्म बट्टा लिने गरेको बताए ।
कपडा र खाद्यवस्तु किनमेल गर्न पुगेकी पुनम ठाकुरसँग त्यहाँका व्यापारीले नेपाली रु एक हजारको सरदर भारु छ सय मात्र दिएको र त्यतिमा कारोबार गरे गर्नुस्, होइन भन्ने सामान बेच्दैनौ भनेपछि त्यत्तिमै कारोबार गरेर आएको बताइन ।
