
सिरहा । लामो समयदेखि रोकिएको सिरहा नगरपालिकाको मुख्य प्रशासनिक भवन निर्माण हुने भएको छ ।
नयाँ सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण कार्यको सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले वुधवार शिल्यानाश गरेका छन् । सुविधा सम्पन्न प्रशासकीय भवन नहुँदा सिरहा नगरपालिकाको विभिन्न शाखाको कार्य नगरपालिका वाहिर भाडाको कोठाबाट संचालनमा पनि आईरहेको छ । नयाँ निर्माण हुने प्रशासकीय भवनमा सिरहा नगरपालिकाको मातहतमा रहको शिक्षा, स्वास्थ्य, कृषि लगायतका विभिन्न शाखाहरुको अलग अलग कार्यकक्ष रह्नेछ ।

सिरहा नगरपालिकाको नयाँ प्रशासकीय भवन निर्माण कार्य ७ करोड वढीको लागतमा सम्पन्न हुने सिरहा नगरपालिकाले जनाएको छ । आफ्नो सुविधासम्पन्न प्रमुख प्रशासकीय भवन निर्माण कार्यको मेयर डा यादवले भूमि पुजा गरी शिल्यानाश गरेका छन् । प्रशासकीय भवनको शिल्यानाश गर्दै मेयर डा. यादवले भौतिक पूर्वाधारको अभावले प्रभावित हुँदै आएकोमा अब त्यस्तो अवस्था नआउने बताएका छन् । ‘नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउन भवनको महत्वपूर्ण भूमिका हुन्छ,’ मेयर डा यादवले भने,‘विकास निर्माणका काममा सबै एकजुट भएर अगाडि बढ्नुपछ ।’
उक्त भवन निर्माणको ठेक्का भुमि ओम बुद्ध जेभिले ७ करोड १४ लाख ५ हजार ९ सय १२ रुपैयाँ ४९ पैसामा प्राप्त गरेको छ । तोकिएको समयमा काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई मेयर डा यादवले निर्देशन समेत दिएका छन् । भवन शिल्यनाश कार्यक्रममा उपमेयर वविता साह, वडा नम्बर ७, ८ , १०, १२, १४, १७, १८ र २० का वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, कर्मचारी, स्थानिय, बुद्धिजिवीको सहभागिता रहेको थियो ।