सिरहा । मानव कल्याण र धर्ममा आफ्नो समय र शरीरको सदुपयोग गर्न चन्द्र नारायण यादव मेमोरियल ट्रष्टका सभापति एवं नेपाली काँग्रेसका महासमिति सदस्य युवा नेता डा. सुभाष चन्द्र यादवले आग्रह गरेका छन् ।
कोरोनाको तेस्रो लहरको जोखिमलाई ध्यानमा राख्दै पूर्व तयारी अनुरुप सिरहा नगरपालिका क्षेत्रका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै सभापति डा. यादवले मानवीय सेवामा लाग्नु पने आजको आवश्यकता भएको बताए । आफूले पहल गरेर ल्याएको नगरक्षेत्रका स्वास्थ्य संस्था र अस्पताललाई हस्तान्तरण गरेको भन्दै डा. यादवले जिल्लाका नेताहरुले पनि आफ्नो तर्फबाट पहल गरी स्वास्थ्य सामग्रीको बन्दोबस्तीमा जुट्नुपर्ने बताएका छन् ।
बोधिसत्वा विहार बुढानिलकण्ठ नामक संस्थाले उपलब्ध गराएको पिपिई, अक्सिमिटर, थर्मोगन, सर्जिकल मास्क, गगल्स, ह्याण्डवास लगायतका स्वास्थ्य सामग्री सिरहा नगरपालिका क्षेत्रका १२ वटा स्वास्थ्य चौकी, जिल्ला अस्पताल सिरहा र चन्द्र नारायण मेटरनिटी अस्पताल सिरहालाई उपलब्ध गराएको डा. यादवले बताए ।
उपलब्ध गराईएको स्वास्थ्य सामग्रीको सहि सदुपयोग गर्न आग्रह गर्दै उनले कोरोना माहामारीबाट जोगिन मास्क लगाउने, दुरी कायम राख्ने, हात धुने वानीलाई निरन्तरता दिन आग्रह गरेका छन् ।
स्वास्थ्य सामग्री वितरण कार्यक्रममा सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादव, सिरहा उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद पोद्दार, चन्द्र नारायण मेटरनिटी अस्पतालका डा. इन्दु यादव, सिरहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इदरिस राइन, सिरहा नगरपालिका क्षेत्रका विभिन्न वडाका वडाअध्यक्ष, स्वास्थ्य चौकीका इन्चार्ज, नेपाली काँग्रेसका क्षेत्रीय सभापति संजय कुमार यादव लगायत नेपाली कांग्रेसका नेता कार्यकर्ता, संचारकर्मीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!