तराईको सदरमुकाम केन्द्रित सहरी क्षेत्रको विकास गर्न सरकारले विशेष प्याकेज ल्याएका थिए । त्यसैमध्येको एक प्याकेजबाट सिरहा नगरपालिका क्षेत्रमा सडक निर्माण, ढल निर्माण भईरहेको छ । सहरी विकास कार्यालय मार्फत सिरहा नगरपालिकाभित्र १५ किलोमीटर र रीप कार्यक्रम अन्र्तगत १५ किलोमीटर सडक निर्माण जारी रहेको छ । दुई अर्ब वढीको योजना कार्यान्वयनमा रहँदा पनि सिरहा सदरमुकामको मुख्य सडकको अवस्था दयनीय छ ।
सडक डिभिजन कार्यालय लहान अन्र्तगत रहेको माडर–सदरमुकाम सिरहा–चोहर्वा सहायक राजमार्गको सकड जीर्ण र जोखिमपूर्ण रहेको छ । वर्षेनी यो सहायक राजमार्गलाई मर्मत सम्भार गर्न करौडौं रकम सडक डिभिजन कार्यालय लहानले खर्चिदै आएका छन् । सडक मर्मतको नाउँमा करौडौं रुपैयाँ खर्चिएपनि एक वर्षातमै सडकको अवस्था दयनीय बन्न पुग्छ । जसले गर्दा चोहर्वादेखि माडरसम्मको करिब २५ किलोमीटर रोडमा ठाउँठाउँमा सयौं सानाठूला खाल्डाहरु रहेका छन् । ती खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढेको छ भने कयौंको ज्यान समेत गईसकेको छ ।

त्यससँगै सदरमुकामको मुख्य सडको अवस्था वेहाल छ । सरोकारवाला निकायको वेवास्ताका कारणले गर्दा सिरहा सदरमुकामको सडकमा सानाठूला कयौं खाल्डाखुल्डी रहेको छ । सडकको अवस्था सदरमुकामको सडक जस्तो देखिदैन् भने दुर्घटनाको जोखिम दैनिक रुपमा थपिदै गएको छ । सिरहा सदरमुकामको करिब दुई किलोमीटर सडकमा भईरहेको वेवास्ताका कारणले गर्दा जोकोहीलाई सताउने गरेको छ । ट्राफिक चौकदेखि महावीर चौकसम्मको सडकको अवस्थालाई लिएर सरोकारवालाको ध्यान अझैं पुग्न सकेको छैन् ।
सडक डिभिजन कार्यालय, जिल्ला समन्वय समिति सिरहा, जिल्ला प्रशासन कार्यालय सिरहा, जिल्ला प्रहरी कार्यालय र सिरहा नगरपालिकाले दयनीय अवस्थामा रहेको सिरहा सदरमुकामको मुख्य सडकलाई राम्रो बनाउन मौनता साधेको देखिन्छ । जिम्मेवार निकायको उदासिनता र समन्वयकारी निकायको मौनताले गर्दा सिरहा सदरमुकाम आउने जोकोहीलाई जोखिमको सामना गर्नु बाध्यता रहेको छ । अब यो सरकारी निकायहरुले कहिले सिरहा सदरमुकामको मुख्य मुख्य सडकलाई स्तरीय बनाउन पहल गर्छ भन्ने हेर्न बाँकी छ । यद्यपी यसका निम्ति सिरहाका नागरिक अगुवाहरुको सशक्त भूमिकाको आवश्यकताको खाँचो छ । राजनीतिक दलले पनि यस विषयलाई गम्भीर लिएर मुख्य सडकको अवस्थालाई राम्रो बनाउन पहल गर्नुपर्छ । त्यसो गर्न सकिए मात्र मुख्य सडकको अवस्था बदलिन सकिन्छ । जोखिममुक्त सिरहा सदरमुकामको सडक बनाउन सवैको भूमिका आवश्यक छ ।



