सिरहा नगरपालिकाले चालू आर्थिक वर्ष २०८१/०८२ सकिनै लाग्दा असार दोस्रो साता नगरको विभिन्न क्षेत्रमा फूलको विरुवा लगाउँने कामलाई तिव्रता दिएको छ । नगरक्षेत्रका खाली जग्गा र सडकको वीचको डिभाईरमा फूलको विरुवा लगाउँदै गर्दा नगरको सुन्दरतालाई वृद्धि गर्ने नगरपालिकाको जोड छ । पक्कै पनि नगरलाई सुन्दर र आकर्षित बनाउन वृक्षारोपण महत्वपूर्ण पाटो हो । फूल र अन्य विरुवाहरु लगाउँदै गर्दा त्यसले दिने सुन्दरतालाई जिवन्त राख्न नगरपालिकाको महत्वपूर्ण क्षेत्रहरुलाई ओझेलमा पार्नु हुँदैन् । त्यसो गरिदा जतिसुकै फूलका विरुवा लगाएर सुन्दरता वढाउने प्रयास गरेपनि फगत देखावटी मात्र हुन सक्छ ।
सिरहा नगरपालिकाले दलबल सहित फूलका विरुवा रोप्दै गर्दा यक्ष प्रश्नको रुपमा सार्वजनिक सौचालय देखा परेको छ । नगरको सुन्दरता र स्वच्छताको निम्ति सार्वजनिक सौचालय र सरसफाई महत्वपूर्ण र अकाट्य विषय हो । अहिले सिरहा नगरपालिका क्षेत्रमा पर्ने सदरमुकामसँगै अन्य बजारहरुमा सार्वजनिक सौचालय छैन् । कयौं वर्ष अघि निर्माण गरी बजेट खर्च गरिएको सौचालय भग्नावशेषको रुपमा परिणत भएको छ । सिरहा नगरपालिकाको कार्यालय नजिकै सार्वजनिक सौचालय निर्माण गरिएको थियो । माडरको बसपार्कमा अर्को सार्वजनिक सौचालय निर्माण गरिएको थियो । यससँगै दातृ निकायको सहयोगमा गुलरीया चौक, जिल्ला समन्वय समिति र सिरहा नगरपालिकाको खर्चमा चन्द्र माध्यमिक विद्यालयको परिसर र प्रादेशिक अस्पतालमा सौचालय सार्वजनिक रुपमा प्रयोग गर्ने गरी लाखौं रुपैयाँ खर्च गरि निर्माण गरिएको थियो । ती सौचालयहरु अहिले जीर्ण र प्रयोग गर्न नसकिने अवस्थामा पुगेको छ ।

त्यसका अलवा सिरहा सदरमुकामको सुन्दरता र स्वच्छतालाई अभिवृद्ध गर्न सक्ने गरी सार्वजनिक सौचालय निर्माण गर्न सिरहा नगरपालिकाले वेवास्ता गर्दै आएको छ । यसले के स्पष्ट हुन्छ भने फूलका विरुवा जति लगाएपनि त्यसले नगरको सुन्दरतामाथि प्रश्न गरिनै रहन्छ । सदरमुकाम सिरहामा सार्वजनिक सौचालय निर्माण यस अर्थमा पनि महत्वपूर्ण छ, यहाँ जिल्लाका विभिन्न गाउँदेखि सेवाग्राहीका रुपमा दैनिक हजारौं सर्वसाधारण नागरिक आईपुग्छन् । सार्वजनिक सौचालय नहुँदा सौच गर्न नै कार्यालयदेखि होटलहरु र पर्खालको ओत लाग्नुपर्ने अवस्था छ । यो एक प्रकारले लज्जाको विषय हो । यसलाई तत्काल सम्बोधन गर्न सिरहा नगरपालिकाले पहल गर्नुपर्छ । नगरको विभिन्न स्थानमा निःशुल्क वा सशुल्क रुपमा पनि सार्वजनिक सौचालयको व्यवस्थापनमा सिरहा नगरपालिकाले सक्रियता देखाउनु अति आवश्यक छ । यस विषयमा सिरहा नगरपालिकाका निर्वाचित जनप्रतिनिधिदेखि कार्यालयका जिम्मेवार अधिकृतहरुले ध्यान दिनुपर्छ । नागरिकको आवश्यकतामध्ये सौचालयको निर्माण र त्यसको व्यवस्थापन गर्न सिरहा नगरपालिकाले प्राथमिकता दिनुपर्छ । अनि मात्र फूलका विरुवा लगाएर सुन्दरता वढाउने खोज्ने अभियानलाई बल मिल्छ सक्छ ।



