सम्पादकीय
मंसिर १८, २०७७ मा प्रकाशित
३४२ पटक पढिएको

 

अहिले देशभरी नै नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय अभियान सञ्चालन भैरहेको छ । नेपालमा औपचारिक कार्यक्रम गरेर प्रधानमन्त्रीले यसको उद्घाटन गरेपछि देशभरी अभियान अन्र्तगत विभिन्न कार्यक्रमहरु आयोजना भैरहेको छ । पछिल्ला केही वर्षदेखि मनाउन थालिएको यो अभियानमा महिलाको अधिकारको दृष्टिले समाजमा चेतना जगाउने, सरोकारवाला निकायलाई यससम्बन्धी काम प्रभावकारी बनाउन सक्रिय बनाउने जस्ता कृयाक्लापहरु भैरहेको छ ।
देशका विभिन्न स्थानमा अभियान जारी रहेकै बेला विभिन्न स्थानमा महिलामाथिको हिंसासम्बन्धी घटनाहरु सार्वजनिक भैरहेको छ । सिरहा, महोत्तरी, धनुषा जस्ता प्रदेश २ का जिल्लाहरुसँगै देशैभरका विभिन्न गाउँमा महिलामाथि हिंसा र दुरव्र्यवहारका घटनाहरु बाहिर आएको छ ।
त्यसो त कोरोनाका कारण लकडाउन भएसँगै देशभरी महिला हिंसाका घटनामा बढोत्तरी भएको विभिन्न तथ्यांकहरुले देखाएको छ । कोरोनाबाट जोगिन गाउँ गाउँमा बनाईएको आईसोलेसन, क्वारेन्टाईनमा महिलामाथि बलात्कार र अन्य हिंसाका घटनाहरु सार्वजनिक भएकै हो । त्यससँगै बोक्सीको आरोपमा सामाजिक, मनोवैज्ञानिक र भौतिक हिंसा, दाइजो प्रथाका कारण हुने हिंसा, बलात्कार र हत्या, एसिड आक्रमणजस्ता घटना पनि घटेका छन् ।
समाजको तल्लो तप्काका महिला, बालबालिका र किशोरीहरू यस प्रकारको हिंसाका चपेटामा अत्यधिक परेका छन् । समाजमा सदियौँदेखि स्त्री–पुरुषबीचको शक्ति सम्बन्धको उँचनिचको परम्परा र महिलामाथि हुने आर्थिक, राजनीतिक तथा सांस्कृतिक दमनका अनेक हतियारहरूले प्रमुख कारक देखिएका छन् ।
वषेनी महिला हिंसा विरुद्धको अभियान भैरहँदा दैनिकजसो हुने हिंसाको घटनाले थप पीडा दिने गरेको छ । यसका निम्त राज्य संयन्त्रले नै प्रभावकारी कदम चाल्नुपर्छ । विभिन्न संघसस्थाले गाउँदेहातमा पुगेर सचेतनामूलक कार्यक्रम, गोष्ठी आयोजना गरिरहँदा राज्यको तर्फबाट पनि कानूनी कार्यान्वयनको पाटोमा गम्भीर बन्नुपर्छ । दैनिकजसो हुने हिंसालाई रोक्न राज्य र समाजका अगुवाहरुले आफ्नो सशक्त भूमिकाको खाँचो छ । घरघरमा राजनीतिक दलका पकड बनिसकेको वर्तमान परिप्रेक्षमा यसलाई रोक्न राजनीतिक दलकै सवैभन्दा ठूलो भूमिका देखिएको छ । यसैले महिलामाथिको हिंसा रोक्न प्रभावकारी पहल हुनु आजको आवश्यकता पनि हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!