सिरहाको लहानमा राजनीतिक खिचातानीले गर्दा फोहर व्यवस्थापनमा चर्को सकस परेको छ । लहान नगरपालिकाले व्यवस्थपान गर्न नसक्दा नगरवासीले दुर्गन्धित वातावरणमा श्वास लिनु परेको छ ।
संविधान २०७२ मा मौलिक हकमा ‘स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने अधिकार’ भएको उल्लेख गरेको छ । मौलिक हक अन्र्तगत भएका आधारभूत विषयमा दलहरुवीच सहमति हुन नसक्दा लहानवासीलाई दुर्घन्धित वातावरणमा बाच्नु परेको छ । हुनत जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख (सिडियो) प्रदीपराज कणेंलले आफैंले बेल्चाले फोहर उठाएको र समस्या समाधान भएको भन्दै समाजिक सञ्जालमा फोटो समेत पोष्ट गरेका थिए ।
समाजिक सञ्जालमा पोष्ट गरिएपनि लहानको बजार क्षेत्रको फोहर व्यवस्थापन हुन सकेको छैन् । लहान नगरपालिकाले नगरवासीसँग फोहर व्यवस्थापनको नाउँमा कर असुल्दै आएको छ । २०७६ साउनदेखि लाग्ने करको दर सम्बन्धी विवरण सहित स्थानीय राजपत्रमा प्रकाशित गरेको छ ।
स्थानीय राजपत्रको परिच्छेद ७ मा ‘महामारी रोकथाम फोहरमैला व्यवस्थापन सम्बन्धी’ नीति वारे उल्लेख गरिएको छ ।
आफैैले बनाएको नीति, नागरिकसँग कर असुल्दै गरेपनि लहान नगरपालिका फोहर व्यवस्थापनमा देखाएको कमजोरी ‘गम्भीर’ हो । यो जनस्वास्थ्यमाथिको खेलवाड र मौलिक हकमाथि प्रत्यक्ष हस्तक्षेप नै हो । यसैले पनि लहान नगरपालिकाले फोहर व्यवस्थापनमा प्रयाप्त ध्यान पुर्याउनु पर्ने खाँचो देखिन्छ । फोहर व्यवस्थापनको सवालमा स्थानीय नेताहरुको सक्रिय सहभागिता र नगरको भविष्यप्रति चिन्तित भएर निकास निकाल्नु जरुरी छ ।
नगरको कुन क्षेत्रमा डम्पिङ साईट बनाउन सकिन्छ र त्यसलाई मोहरमा परिणत गर्न सकिन्छ त्यस विषयमा दलीय सहमति पनि खोज्नुपर्छ । फोहर व्यवस्थापनले वडामा पर्ने असरको प्रक्षेपण गरी उक्त वडावासीको जीवनस्तर उकास्ने गरी विशेष प्याकेज पनि ल्याउनु जरुरी छ । यस तर्फ लहान नगरपालिका र जनप्रतिनिधीले सोच्नु र आफ्ना ठोस कदम उठाउनु पर्छ ।
अपन दैनिक
भदौ १७, २०७७ मा प्रकाशित
५८७ पटक पढिएको
ताजा समाचार
लोकप्रिय
© 2024 | Apandainik.com | All Rights Reserved | Privacy Policy | Disclaimer