हुलाकी राजमार्ग अन्र्तगत औरही गाउँपालिकामा पर्ने गागन नदीको पुल लामो समयदेखि निर्माणाधीन रहेको छ । कमला नदीमा विगत ११ वर्षदेखि निर्माण, अवरोधकावीच अलपत्र परेको कमल नदीको पुलपछि अर्को महत्वपूर्ण गागन नदीको रहेको छ । गागन नदीको पुलले सिरहा सदरमुकामलाई पूर्वी गाउँपालिकाहरुलाई जोड्न मद्दत गर्छ । औरही गाउँपालिका–१ मा पर्ने सो पुल निर्माण गर्न हिराचन/रोशन जेभिले २०७६ मा सम्झौता गरेको छ । हुलाकी सडक निर्देशनालय जनकपुरधामसँग २०७६ माघ ८ मा १४ करोड ६५ लाख ४१ हजार रुपैयाँमा आरसीसी पुल निर्माण गर्ने सम्झौता गरेपनि ३ वर्ष वित्न लाग्दा भौतिक प्रगति ४० प्रतिशत मात्र भएको छ ।
यो पुलको कार्य २०७९ साउन ७ मा सम्पन्न गर्नेगरी निर्माण कम्पनीले ठेक्काको सम्झौता गरेको छ । अहिले पुलको पायर निर्माण पूरा भएपनि सुपर स्ट्रक्चर, स्ल्याबको काम सुरु भएको छैन् । यस दौरानमा निर्माण कम्पनीले ५ करोड ७३ लाख ३५ हजार रुपैयाँ भुक्तानी लिई सकेको छ । सम्झौता रकमको करिब ४० प्रतिशत रकम भुक्तानी पाईसकेको निर्माण कम्पनी हिराचन÷रोशन जेभिले पुल निर्माण कार्यलाई गति दिन सकेको छैन् । जसले गर्दा वर्षातका बेला सिरहाको बरियारपट्टी, नवराजपुर, भगवानपुर, सुखिपुर लगायतका विभिन्न पालिकाका स्थानीयलाई सदरमुकाम आउन कठिनाई सामना गर्नुपर्छ । अहिले निर्माण कम्पनीले कामलाई तिव्रता दिन सकेको भए अगामी वर्षात् अगावै पुल निर्माण गरी प्राविधिक जाँच गर्न सकिन्छ । निर्माण कम्पनीले पुल निर्माणलाई प्राथमिकतामै नराखेको देखिएको छ । जसले गर्दा गागन नदीको पुल अलपत्र परेको छ । पुल निर्माण नहुँदा हुलाकी सडकको निर्माणको जिम्मेवारी लिएका निर्माण कम्पनीलाई पुलसम्मको सडक बनाउन पनि विलम्ब भईरहेको छ ।
गागन नदीको पुल निर्माणमा भईरहेको ढिलाई प्रति स्थानीय नागरिक समाजसँगै स्थानीय तह, निगरानी गर्नुपर्ने सरकारी कार्यालयहरु, प्रतिनिधि सभा, प्रदेश सभाका सांसदहरुको ध्यान पुग्न जरुरी छ । आफ्नै नागरिकले पाईरहेको सास्तीलाई समाधान गर्दै सहज पारवाहन हुन सक्नेतर्फ जोड दिनुपर्छ । जसले गर्दा निर्वाचित स्थानीय तहदेखि प्रदेश र संघका जनप्रतिनिधिको भूमिका स्थानीय नागरिकले महसुस गर्न सकोस् । अर्कोतर्फ हुलाकी सडकको वर्षात्का बेला रोकिने कनेक्टिभिटाई जोड्न सफलता मिल्न सक्छ । यसतर्फ सवैले जोड दिनु जरुरी छ ।




