
मधेशको लाईफलाईन हुलाकी सडक जोड्ने महत्वपूर्ण कमला नदीमाथि निर्माणधीन पुल रहेको छ । मधेश प्रदेशको पूर्वको जिल्ला सदरमुकाम राजविराज जोड्न पनि कमला नदीमाथि बन्दै गरेको पुल नितान्त आवश्यक छ । झन् कोसी ब्यारेजदेखिको पूर्वी जिल्लाको मधेश प्रदेशको राजधानी जनकपुरधाम जोड्न पनि कमला नदीमा निर्माणधीन पुल अब छिटो सम्पन्न हुन जरुरी छ । कोसी व्यारेजदेखि भारदह, हनुमानगर, राजविराजहुँदै हुलाकी राजमार्ग भएर सिरहाहुँदै मधेश प्रदेशको राजधानी जनकपुरधाम पुग्न सकिन्छ । छोटो दुरीको यो राजमार्ग पूर्ण क्षमतामा सञ्चालन हुन जरुरी छ । त्यसको निम्ति कमला नदीमा निर्माणधीन पुलले कनेक्टिभिटिलाई ‘डिस्कनेक्ट’ गरिदिएको छ ।
हुलाकी राजमार्ग क्षेत्रमा कायापलट ल्याउने गरी कमला नदीको पुल निर्माण अति नै आवश्यक छ । अलपत्र रहेको कमला नदीको पुल निर्माणलाई जोडबल दिन सिरहा नगरपालिका र धनुषाको कमला नगरपालिकाले पनि उत्सुकता राख्नुपर्छ । दुवै जिल्लाका कमला नदी छेउछाउका नागरिकको निम्ति कमला पुल अपरिहार्य पनि छ । स्वास्थ्य, शिक्षा, व्यापार, व्यवसाय जोडिने यो पुल निर्माणले अहिले भोग्नु परेको सास्तीको निराकरण गर्छ ।
कमला नदीमा ४ सय ७० मीटर लामो पुल निर्माण गर्न पप्पु कन्स्ट्रक्शन लुम्बिनी बिल्र्डसले संयुक्त रुपमा २४ करोड ९० लाख रुपैयाँमा २०६८ जेठ ३१ मा निर्माणको सम्झौता गरेको थियो । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरेका निर्माण कम्पनीले ११ वर्ष पूरा भएपनि अझैं सकेको छैन् । अन्तिम पटक म्याद थप गरी २०७८ फागुन ३० सम्मको समय निर्धारण गरिएको थियो । त्यससमयभित्र पनि निर्माण सक्नुपर्ने पुल अहिले पनि अलपत्र छ । पुल निर्माण पूरा नहुँदै २०७८ असार १७ भाँसिन पुग्यो । त्यसको तीन महिना पछि कार्तिक ३ मा पुनः अर्को पायर (पाया) भासियो । जसले गर्दा ११ वर्षदेखि निर्माण भईरहेको यो पुल निर्माण रोकिपपछि सहज रुपमा सवारी सञ्चालन हुने अन्यौल थपिएको छ ।
पुल निर्माण कम्पनीको सम्झौता गरेको निर्माण कम्पनीले निर्माण कार्य पूरा नहुँदै २३ करोड १९ लाख १४ हजार रुपैयाँ आयोजनाबाट भुक्तानी पाईसकेको छ । निर्माण सम्पन्न गरेसकेपछि जम्माजम्मी पौने दुई करोड रुपैयाँ भुक्तानी अर्थात निर्माण कम्पनीले पाउन बाँकी रहेको छ । कूल रकममध्ये १ करोड ७१ लाख रुपैयाँ निर्माण कम्पनीले भुक्तानी पाउन बाँकी रहेको छ ।