सिरहा–धनुषा जोड्ने हुलाकी राजमार्ग अन्र्तगत कमला नदीमा पुल बन्न थालेको ११ वर्ष भयो । २५ करोड लागतमा सुरु भएको बहुप्रतिक्षित पुल निर्माण नहुँदै भासियो । पुल भाँसिएको पनि एक वर्ष वढी भैसकेको छ । कमला नदीको निर्माणधीन पुलको दुई वटा पाया भाँसिएपनि पुनः पुल संचालनमा ल्याउन काम अगाडी बढ्न सकेको छैन् । पुल निर्माण नहुँँँँदा सिरहा र धनुषा जिल्ला मात्र होईन, हुलाकी राजमार्ग भएर जनकपुरबाट सिरहा, राजविराजतर्फ सवारीसाधनमा जानेलाई लामोमार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ ।
नागरिकलाई मतदातालाई लामो यात्रा गर्नुपर्ने बाध्यता हटाउन कमला नदीमा पुल बन्न जरुरी छ । पुल बनेसँगै यसक्षेत्रका दैनिकी पनि बदलिने छ । कमला नदी छेउका सिरहा र धनुषा जिल्लाका नागरिकको सपना नै कमला नदीको पुल छिटो निर्माण हुनु र वारीपारी गर्न सहज होस् भन्ने हो । यसका निम्ति दुवैतर्फका किसानदेखि व्यापार व्यवसाय गर्नेहरु पुल निर्माणको ब्यग्र प्रतिक्षामा रहेको छ ।

अहिले देशभर चुनावी माहौल छ । मंसिर ४ मा मतदान हुँदैछ । दल र उम्मेदवारहरु गाउँगाउँ मत माग्न पुग्दैछन् । विभिन्न विकासका बकम्फुसे योजनाहरु सार्वजनिक गर्दैछन् । दैनिकसँग प्रत्यक्ष जोडिएको कमला नदीमा निर्माणधीन पुलको वारेमा दल र उम्मेदवारहरु मौन छन् । उनीहरुको प्राथमिकता नै कमला नदीको पुल छैन, जस्तो प्रष्ट भईरहेको छ । कमला नदीको पुले ल्याउने आर्थिक क्रान्तिप्रति उनीहरुको चासो छैन् । नत दुरदृष्टि छ, जसले यस क्षेत्रमा रोजगार, शिक्षा, स्वास्थ्यका अनेक क्षेत्रलाई सहज तुल्याउने छ । सिरहा र धनुषातर्फका कुनैपनि संघ र प्रदेश सभाका सांसद पदका उम्मेदवारले कमला नदीको पुल निर्माणवारे स्पष्ट धारणा र प्रतिबद्धता व्यक्त गर्न सकेका छ्रैनन् ।
सिरहा क्षेत्र नम्बर ३ र धनुषा क्षेत्र नम्बर २ पर्ने यस क्षेत्रबाट अहिले नेकपा एमालेका उम्मेदवारद्वय लीलानाथ श्रेष्ठ र उमाशंकर अरगरिया उम्मेदवार बनेका छन् । दुवैजना निर्वतमान सांसद हुन् । दुवैजनाको देशमा राम्रो चर्चा भएको थियो । यद्यपी कमला नदीको पुल निर्माण होस् र जनजीवनलाई सहजता होस् भन्ने खालको धारणा र प्रतिबद्धता सार्वजनिक हुन सकेको छैन् । यसले उम्मेदवारहरुको चासो कमला नदीको छैन भन्ने प्रष्ट हुन्छ । दल र उम्मेदवारलाई कमला नदीको पुललाई आफ्नो चुनावी एजेण्डामा राख्नुपर्नेथ्यो । जसले मतदातालाई उत्साहित बनाउन सक्थ्यो । अझैं समय छ, दल र उम्मेदवारको ध्यान यसतर्फ पुगोस् ।



