देशभर चाडपर्वको रौनक थपिन थालेको छ । चाडपर्वसँगै बजारमा व्यस्तता बढ्ने गर्छ । खाद्यन्नदेखि विभिन्न उपभोग्य बस्तुको खरिद बिक्रि बढ्ने गर्छ । अहिले ठूलोदेखि सानो बजार क्षेत्रमा पनि चहल पहल बढेको छ । बजारमा व्यापार बढेसँगै कालोबजारी गर्ने र म्याद गुज्रिएका समान बेच्ने समान्य हुन्छ । व्यापारीहरु बढ्ता भण्डारण गरेर राखेका खाद्यन्नदेखि अन्य सामग्रीहरु चाडपर्वको बेला बेच्ने गरेको छ । सिरहा जिल्लाको विभिन्न बजार क्षेत्रमा म्याद गुज्रिएका समानहरु बिक्रि वितरण भईरहेको कुरा पटक पटक उपभोक्ताले फेला पारेर गुनासो गरेपछि खुलेको छ । ठूला लगानीका डिपार्टमेन्टल स्टोरदेखि सानो सानो किराना पहलहरुमा पनि म्याद गुज्रिएका समानहरु वेलगाम विक्रि वितरण भईरहेको छ ।
सिरहामा व्यापारीहरु खुलेआम म्याद गुज्रिएका समान विक्रि वितरण गर्न पूरानो सिलमा नयाँ सिल लगाउने जस्ता कुकृत सामुन्ने आएको छ । यो गम्भीर विषय हो । उपभोक्ताले खानेकुरामा पनि व्यापारीबाट यस स्तरको कृयाक्लाप भईरहँदा पनि सूचना पाएका स्थानीय प्रशासनदेखि स्थानीय सरकारहरु सक्रिय नहुँनु चिन्ताजनक रहेको छ । नागरिकको जीवन जोखिममा पर्न सक्ने अवस्थामा सरोकारवाला निकायको उदासिनताले निकै प्रश्नहरु उब्जयाएको छ । त्यससँगै व्यापारीहरुको हकहितसँगै उपभोक्ताको पक्षमा वकालत गर्ने दायित्व उद्योग वाणिज्य संघहरुको पनि रहेको छ ।

सिरहा जिल्लामा लहान, गोलबजार, मिर्चैया र सदमुकाम सिरहा क्षेत्रलाई जोडेर चार वटा उद्योग वाणिज्य संघको कार्यालयहरु सञ्चालनमा रहेको छ । ती कार्यालयका जिम्मेवार पदाधिकारीहरु नागरिकको जीवन जोखिममा पार्ने खालको क्रियाक्लाप गर्ने व्यापारीहरुलाई निगरानी गरी आवश्यक कारबाही प्रकृया अगाडी बढाउनु पर्छ । उद्योग वाणिज्य संघको सदस्यता हासिल गरेको भरमा नागरिकको स्वास्थ्यमा गम्भीर असर पार्ने काम गर्नु कदापी मिल्दैन् । यसैले सिरहा जिल्लामा रहेका उद्योग वाणिज्य संघका कार्यालयहरुले यस विषयमा गम्भीर बन्नुपर्छ । नागरिकको पक्षमा जुनसुकै संघसंस्था रह्नुपर्छ ।



