
कानूनले उपभोक्ताको हक अधिकारको कुराको सुनिश्चितता गरेको छ । स्वच्छ, गुणस्तरीय सामग्री उपभोक्ताले पाउनु पर्ने अधिकार छ । उपभोक्ता अधिकारलाई कुण्ठित गरी बजारमा गुणस्तरहीन सामग्री पाउने गरेको गुनासो पटकपटक सार्वजनिक वृत्तमा आउने गरेको छ । सिरहा जिल्लाका बजारहरुमा उपभोक्तालाई ठग्ने गरेको घटना समान्य छ । उपभोक्ता ठगिने क्रम बढ्दो छ ।
खानेकुरादेखि लत्ताकपडा, आवश्यक अन्य निर्माणका सामग्रीमा पनि उपभोक्ता ठगिने गरेको छ । उपभोक्ता ठगिने क्रमलाई रोक्नुपर्ने ठाउँमा झन् बढ्दो छ । उपभोक्ताको स्वास्थ्यलाई असर गर्नेगरी बजारमा धूलो र धूवावीचमा राखिने गरेको खानेकुराको व्यापार उच्च छ । उपभोक्ता बोल्न नसक्ने अवस्थाको फाइदा उठाउँदै व्यवापारीहरुले स्वास्थ्यप्रति गम्भीर खेलवाड गर्दै आईरहेको छ । सिरहा सदरमुकाममै सडक छेउमै खानेकुरा खुलेआम राख्ने गरेको छ । खुलेआम खानेकुरा राख्दा धूलो र धुवाले ती खानेकुरा प्रर्दुषित हुने गरेको र यसले स्वास्थ्यमा समस्या ल्याउने उच्च जोखिम रहेको छ ।

सिरहा सदरमुकामसँगै जिल्लाको अन्य बजार क्षेत्रमा पनि यसरी नै खानेकुरा राख्ने गरिन्छ । जसले गर्दा उपभोक्ताको स्वास्थ्यमा जोखिम हुने प्रवल सम्भावना हुने र कतिपय घटनाहरु पनि वाहिर आउने गरेको छ । उपभोक्ता हितलाई संरक्षण गर्न कानून बनेको र कानूनको कार्यान्वयन गर्ने गरी अनुगमनको जिम्मेवारी स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय र खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय लगायत रहेको छ । यी कार्यालयहरुले नियमित अनुगमन निरिक्षण गर्न नसक्दा र कारबाहीको दायरामा ल्याउन नसक्दा उपभोक्ताको हित विपरीत व्यापारीहरुले अखाद्य वस्तु मिश्रित सामग्री बेच्ने गरेको, स्वास्थ्यमा जटिलता थप्ने गरी खुला धूलो धुवामा राखिएको खानेकुरा विक्रि वितरण गर्ने गरेको छ । त्यसका अलावा म्याद गुज्रेका समानहरु बजारमा उपभोक्तालाई ठगेर बेच्ने गरेको छ ।
यसरी उपभोक्तामाथि भईरहेका अत्याचारलाई रोक्न जिम्मेवारी पाएका निकायहरुको सक्रियता आवश्यक छ । अनुगमन निरिक्षण गर्ने निकायहरु अगाडी आउनु पर्छ र अनुगमन निरिक्षणलाई निरन्तरता दिनुपर्छ । जसले उपभोक्ताको हित संरक्षण गर्न सक्छ भने स्वस्थ्यकर सामग्री पाउने उपभोक्ताको अधिकारको सुनिश्चितता गर्छ । यस तर्फ सवै सरोकारवालाको ध्यान जानुपर्छ ।