सिरहा जिल्लाभर कृषकलाई धानखेती गर्न आवश्यक रहेको मलखाद्य सहज रुपमा उपलब्ध भईरहेको छैन् । मलखाद्यको निम्ति किसानहरु पालिकामा मलखाद्य वितरणको जिम्मेवारी लिएका सहकारी संस्थाहरुको अगाडी ठूलो लाईन लाग्नुपर्ने बाध्यता रहेको छ । विहानदेखि केही किलो मलखाद्य पाउनुपर्छ भन्दै किसानहरु घण्टौ लाईन लाग्ने बाध्यता अहिले जिल्लाभर देख्न सकिन्छ ।
सिरहा जिल्लामा ५४ हजार हेक्टरमा धान रोपाई हुन्छ । कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार धानखेती हुने क्षेत्रफलको आधारमा सिरहा जिल्लामा यूरिया मल १२ हजार २४९ मेट्रिक टन, डिएपी ४ हजार ६९६ मेट्रिक टन र पोटास ३ हजार ६ सय मेट्रिक टन आवश्यक रहेको छ । यस अनुपातमा सिरहा जिल्लामा न्यून उपलब्ध भएको छ । साल्ट टे«ेडिङ र कृषि सामग्री संस्थाले रसायनिम मलखाद्यको जिल्लाको आवश्यकताकोे थोरै क्षेत्रफल मात्र पुग्ने गरी उपलब्ध गराउँदै आएको छ । जसले गर्दा जिल्लामा मलखाद्यको आवश्यकता टड्कारो छ । मलखाद्य नुहँदा किसानहरुलाई भौतारिनु पर्ने बाध्यता रहेको छ ।

सिरहा जिल्लामा किसानलाई आवश्यक पर्ने मलखाद्य उपलब्ध नहुँदा गुणस्तर कमजोर रहेपनि भारतबाट मल ल्याउनुपर्ने बाध्यतामा रहेका छन् । यसमा सीमाक्षेत्रमा रहेका सुरक्षाकर्मीको धाकधम्की पनि सह्नुपर्ने बाध्यता किसानहरुलाई हुन्छ । यस कारणले यस विषयमा स्थानीय तहहरुले पनि सहजीकरण गर्नुपर्छ । आफ्ना पालिका क्षेत्रका किसानलाई सहज रुपमा मलखाद्य उपलब्ध गराउने गरी स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुले भूमिका खेल्नुपर्छ । किसानलाई आवश्यकता अनुसारको मल उपलब्ध भएपछि त्यसले उब्जनी बढाउन मद्दत गर्छ र किसानको मिहिनेतले सफलता पाएपछि त्यसको सकारात्मक प्रभाव पालिकालाई पनि हुन्छ । यसकारणले पनि स्थानीय तहहरुले किसानको आय स्तर बढाउन सक्रिय भूमिका खेल्नुपर्छ । खेती उब्जनीको अर्थशास्त्र निकै नै महत्वपूर्ण छ । त्यसकारणले पनि नवनिर्वाचित जनप्रतिनिधिहरुले यसमा विशेष ध्यान दिनुपर्छ ।



