सिरहा जिल्लामा स्थापना भएको ठूलो उद्योग मध्येका एक हो, शौर्या सिमेन्ट उद्योग । सिमेन्ट, क्लिन्कर लगायत उत्पादन गर्ने गरी सिरहाको मिर्चैया र कर्जन्हा नगरपालिकाको सीमाक्षेत्रमा शौर्य सिमेन्ट स्थापना गरिएको छ । १५ अर्ब लगानी गरी स्थापना भएको उद्योगमा एकवर्षदेखि किचलो छ । चुरे पहाड छेउमै उद्योग स्थापना गर्नु वातावरणीय हिसाबले पनि प्रश्न उठाएको छ । त्यसका अलावा शौर्या सिमेन्ट उद्योग पछिल्लो पटक विवादमा तानिदै आईरहेको छ ।
शौर्या सिमेन्टमा काम गर्ने अहिले ५ सय वढी मजदुरहरुको स्वास्थ्य र सुरक्षा लगायतका मागलाई समेट्दै आन्दोलन फेरी सुरु भएको छ । सहमति अनुसारको तलव, सुरक्षा र सुविधाको माग राख्दै कर्मचारीहरु आन्दोलित भएको छ । गत मंसिर शौर्या सिमेन्ट उद्योगमा कार्यरत मजदुरहरुले १२ बुदें माग राख्दै आन्दोलनमा उत्रिएका थिए । आन्दोलनमा मजदुरहरु उत्रिएपछि उद्योगको व्यवस्थापन पक्ष र मजदुरवीच विभिन्न बुँदामा सहमति बनेको थियो । सहमति लागु गर्नुपर्नेमा त्यस विपरीत उद्योगले कर्मचारी हटाउने, सेवा सुविधा प्रदान गर्न नसकेको भन्दै मजदुरहरु वुधवारदेखि पुनः आन्दोलित भएका छन् ।

मजदुरको आन्दोलनको आधारमा उद्योगले आन्तरीक मेमो नै जारी गरेको थियो । मंसिर ६ मा ९ बुँदे आन्तरीक मेमो जारी गर्दै श्रमिकको न्यूतम पारिश्रमिक, ८ घण्टाभन्दा वढी काम गरेकालाई नियमानुसार रकम भुक्तानी लागू गराउने, ५ घण्टा काम गर्दा आधा घण्टा र ८ घण्टा वढी काम गर्दा १ घण्टा अनिवार्य विश्राम दिनुपर्ने, कामदारको कामको प्रकृति हेरी औषधी उपचार, दुर्घटना वीमा, सामाजिक सुरक्षा कोषको सुविधा, सुरक्षा साधन, साप्ताहिक विदा, सौचालय र विश्राम स्थल निर्माण, पिउने पानीको व्यवस्था, प्राथमिक उपचारको निम्ति एम्बुलेन्स, उद्योग परिसरभित्र वातावरण स्वच्छ राख्न हरियाली अभियानको रुपमा वृक्षारोपण कार्य अघि बढाउन र ट्यांकरले सडकमा पानी छर्किने जस्ता कार्य गर्नुपर्ने थियो । आन्तरीक मेमो जारी गरेपनि मजदुरहरुले न्यूनतम सुविधावाट बञ्चित हुन थालेपछि पुनः आन्दोलनमा उत्रिएको हो । उद्योगमा कार्यरत मजदुरको स्वास्थ्य र सुरक्षामा विशेष जोड दिन उद्योग प्रशासन अगाडी आउनुपर्छ ।
आफ्नो जीवनको उर्जा उद्योगको निम्ति खर्च गरिरहँदा उद्योग प्रशासनको जिम्मेवारी उनीहरुको स्वास्थ्य र सुरक्षा आधारभूत मागको हुनुपर्छ । यसैले शौर्या सिमेन्ट उद्योगमा मजदुरले उठाएको माग सम्बोधन गर्न उद्योग प्रशासन अग्रसर हुनैपर्छ । त्यति गर्न सकिए जारी आन्दोलन मत्थर हुन सक्छ र यसले दुवैपक्षलाई लाभ हुन सक्छ । यस तर्फ उद्योग प्रशासनले प्रयाप्त ध्यान दिनुपर्छ । जसको आधार आफैंले जारी गरेको ९ बुँदे आन्तरीक मेमो पनि हो ।



