देशमा अहिले असल नेतृत्वको खोजी तिव्र रुपमा भईरहेको छ । राजनीतिक दलदेखि सरकारी कर्मचारी, समाजिक संस्थादेखि खेलकुदको मैदान सम्ममा असल नेतृत्वको खोजी गरिदै आएको छ । सक्षम र असल नेतृत्व भएपछि त्यसको सकारात्मक प्रभावहरु समाजमा देखिन सक्छ । त्यही भएर अहिले स्थानीय तहदेखि, प्रदेश, संघमा असल नेतृत्वको खोजी भईरहेको छ ।
सिरहा जिल्लामा पनि पटक पटक असल नेतृत्वको खोजी भएको छ । असल नेतृत्व नहुँदा सिरहा जिल्लाले सकारात्मक उपलब्धीहरु हासिल गर्न र खराब सूचांकवाट माथि उक्लिन सकिरहेको छैन् । यसका निम्ति असल नेतृत्व चाहिन्छ । फड्को मार्न त्यस प्रकारको साहस र नेतृत्व चाहिन्छ ।
भारतीय अभिनेता अनिल कपूरको अभिनय रहेको चलचित्र ‘नायक’ नेपाली राजनीतिक क्षेत्रलाई व्यंङ गर्न चर्चामा पुग्ने गर्छ । अनिल कपूरकै जस्तै भूमिकाको चौतर्फी खोजी भईरहेको छ । सिरहा जिल्लामा पछिल्लो समय जिल्ला प्रहरीको नेतृत्वमा आएको बदलबाले त्यसको झल्को दिन सकिने आशा पलाएको छ । प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिना सिरहा जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हालेको एक महिना वढी भएको छ । नेतृत्वमा आएपछि उनले सिरहा जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा प्रभावकारी काम गर्न प्रयासरत रहेको संकेत दिएको छ ।
जिल्ला प्रहरी प्रमुखले दिएको छनक स्पष्ट छ । सिरहा जिल्लामा अवैध रुपमा भईरहेको तस्करी, लागूऔषधको बढ्दोका कारोबार र सेवन, अपराधका अनेक घटनालाई न्यूनीकरण गर्ने र राज्यले दिएको जिम्मेवारी पूरा गर्ने मुख्य दायित्व उनीमाथि रहेको छ । त्यही भएर पछिल्लो एक महिना भित्र प्रहरीवाट सम्पादन भएको कार्यको विवरण सार्वजनिक गर्दा त्यस प्रकारको आशा पलाएको देखिन्छ । प्रहरी प्रमुख राजनीतिक दलको आडमा नागरिकलाई यातना दिनु हुँदैन् । विगतमा प्रहरीका प्रमुखहरुबाट त्यस प्रकारका घटनाहरु नभएको होइनन्, तर नयाँ प्रहरी प्रमुख तिमिल्सिनालाई पहिलाको प्रहरी प्रमुखको छवीलाई सुधार्न र संगठनको गरिमालाई उच्च बनाउन सशक्त भूमिका खेल्नुपर्छ ।

विचौलियाको बिगबिगी रह्ने हुँदा त्यसदेखि साबधान हुनुपर्छ । त्यससँगै नागरिकसँग प्रत्यक्ष सम्पर्कमा बसेर जिल्लाको शान्ति सुरक्षा र अपराधजन्य क्रियाक्लापलाई न्यूनीकरण गर्दै नियन्त्रणमा लिनुपर्छ । त्यसले मात्र उनको छवीसँगै सिरहा जिल्लाको प्रहरी कार्यालयको छवीलाई नागरिकको स्तरवाट उच्च सम्मान पनि मिल्न सक्छ । यो अवसरलाई सदुपयोग गर्न सिरहा प्रहरी प्रमुखले गम्भीर मन्थन गर्नुपर्छ । थोरै लोभलाभमा लागेर पैसा कमाउनतिर केन्द्रित हुने की आफ्नो पेशागत र संगठनको गरिमा उच्च बनाउन भूमिका खेल्ने त्यो उनैको हातमा छ । नागरिकले खोजेको छ, असल प्रहरी नेतृत्व ।



