सिरहा । सिरहाको मिर्चैया नगरपालिका–६ स्थित देवकी कलेजले बीबीए २०२२ ब्याचका विद्यार्थीलाई बिदाइ तथा नवप्रवेशी विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ । कलेजको व्यवस्थापन तथा विज्ञान सङ्कायको आयोजनामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा लहानस्थित एभरेस्ट कलेजका प्रमुख धरणीधर अधिकारी प्रमुख अतिथि तथा अक्षर पाठशालाका प्रमुख चन्दीप महतो विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।
त्यसैगरी, कार्यक्रममा देवकी कलेजका प्रमुख रामएकवाल नायक, शत्रुधन महतो, कमल साह, ममता नायक र पूजा चौधरीलगायत शिक्षक तथा अतिथिहरूको उपस्थिति थियो ।
कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक यात्रा, उपलब्धि र अनुभवबारे चर्चा गर्दै बिदाइ हुने विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरिएको थियो । साथै, नवप्रवेशी विद्यार्थीहरूलाई कलेजमा स्वागत गर्दै उनीहरूको शैक्षिक सफलता र आगामी यात्राका लागि शुभकामना व्यक्त गरिएको थियो ।
कार्यक्रमले अध्ययन पूरा गरेका विद्यार्थीलाई सम्मानपूर्वक बिदाइ गर्नुका साथै नयाँ विद्यार्थीलाई कलेजको शैक्षिक वातावरणमा आत्मीयताका साथ स्वागत गर्ने अवसर प्रदान गरेको कलेजले जनाएको छ ।





