सिरहा । सिरहाको सिरहा नगरपालिका–१९ सन्हैठास्थित साझोमाई मन्दिरबाट चोरी भएका घण्टीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मन्दिरमा श्रद्धालुहरूले चढाएका विभिन्न आकारका घण्टी चोरी भएको र केही घण्टी मन्दिर परिसरमा छरपस्ट अवस्थामा फेला परेको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको थियो ।
सोही क्रममा शनिबार साँझ करिब ५ बजे सिरहा नगरपालिका–१ स्थित शिव मन्दिर नजिक जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले शंकाका आधारमा स्थानीय ४० वर्षीय इन्द्र कुमार यादवलाई जाँच गरेको थियो ।
सिरहा नगरपालिका–१९ सन्हैठा निवासी रामचन्द्र यादवका छोरा इन्द्र कुमार यादवको साथमा रहेको झोला जाँच गर्दा साना तथा मध्यम आकारका पितलजस्तो देखिने ११ वटा घण्टी फेला परेको प्रहरीले जनाएको छ ।
घण्टीसहित यादवलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।





