सिरहा । सिरहाको मिर्चैया नगरपालिका–६ स्थित मिर्चैया–कटारी सडकखण्डबाट खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने प्रतिबन्धित लागुऔषध पदार्थसहित दुई जना पक्राउ परेका छन् ।
शनिबार साँझ करिब ६ बजे होलिडे होटल अगाडि लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको संयुक्त प्रहरी टोलीले मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
मिर्चैयाबाट कटारीतर्फ जाँदै गरेको प्रदेश ०१–००५ प ९१२४ नम्बरको मोटरसाइकललाई शंका लागेर रोकी चेकजाँच गर्दा मोटरसाइकल चालक सिरहाको धनगढीमाई नगरपालिका–५, जेयपुरका २४ वर्षीय दिलिप कुमार सिंह र पछाडि सवार सोही स्थानका २८ वर्षीय रञ्जित कुमार सिंह दनुवारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रञ्जित कुमार सिंह दनुवारले लगाएको जिन्स पाइन्टको दाहिने खल्तीबाट कालो प्लास्टिकका तीनवटा पोका फेला परेका थिए । ती पोका खोली जाँच गर्दा खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको हो ।
प्लास्टिकसहित तौल गर्दा उक्त पदार्थ ४०.४१० ग्राम र प्लास्टिक हटाएर तौल गर्दा ३१.४३० ग्राम रहेको प्रहरीले जनाएको छ । साथै, दुईवटा स्क्रिन टच मोबाइलसमेत बरामद गरिएको छ ।
पक्राउ परेका दुवै जनालाई बरामद पदार्थसहित इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।





