जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा रोजगारी सिर्जना तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रम अघि बढाउने निर्णय गरेका छन् ।
आज पदभर ग्रहण गर्दै उनले दुई निर्णय गरेका हुन् ।
निर्णयमा मधेश प्रदेशमा विद्यमान गरिबी र बेरोजगारी न्यूनीकरण गर्दै युवाहरू, श्रमिक तथा महिलालाई सीपयुक्त बनाई आत्मनिर्भर बनाउने उद्देश्य राखिएको छ ।
यसअन्तर्गत मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिका लागि स्वरोजगार कार्यक्रम, मुख्यमन्त्री रोजगार कार्यक्रम तथा सार्वजनिक रोजगार सेवा प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

त्यस्तै, आधुनिक प्रविधिमा आधारित स्वरोजगारका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई), ई-कमर्स र कम्प्युटरसम्बन्धी तालिममार्फत उद्यमशीलता विकास गर्ने प्रस्ताव गरिएको छ । एकीकृत रोजगार कार्यक्रम प्रदेशका पाँच जिल्लामा नौ महिनासम्म सञ्चालन गर्ने योजना पनि उल्लेख छ ।
त्यसैगरी, अर्को निर्णयमा वन तथा वातावरण र जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकता दिने निर्णय गरेका हुन् ।




