सात पोका लागूऔषध बरामद, घटनास्थलमा कोही फेला परेनन्
सिरहा । सिरहा र सप्तरी जिल्लाको सिमानामा पर्ने बलान खोलाको बीचमा खाल्डो खनेर लुकाइएको २३१ किलो ८०० ग्राम गाँजाजस्तो देखिने पदार्थ प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बुधबार राति करिब १ बजे विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित बलान खोलामा खानतलासी गर्दा उक्त पदार्थ फेला पारेको हो ।
इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको प्रहरी टोलीले खाल्डोमा लुकाएर राखिएको अवस्थामा गाँजाजस्तो देखिने पदार्थ फेला पारेपछि प्रहरी चौकी बेल्ही तथा सशस्त्र प्रहरी बल नेपाल बीओपी बेल्ही सप्तरीको टोलीसमेत परिचालन गरी बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सातवटा पोकामा लुकाएर राखिएको उक्त पदार्थ प्लास्टिकको बोरा बाहेक तौल गर्दा २३१ किलो ८०० ग्राम रहेको छ ।
लागूऔषध लुकाइएको स्थानमा कुनै पनि व्यक्ति फेला नपरेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
बलान खोलाको दुर्गम तथा सुनसान क्षेत्रलाई लागूऔषध ओसारपसारमा प्रयोग गरिएको हुन सक्ने आशंकामा प्रहरीले निगरानी र अनुसन्धान अघि बढाएको छ ।





