सिरहा । सिरहा–चोहर्वा सडकखण्डअन्तर्गत सिरहा नगरपालिका–११ भलुवाहीमा बिहीबार बिहान ट्रक र मोटरसाइकल ठोक्किँदा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार सिरहा नगरपालिका–२२ निवासी रामकुमार यादवका करिब २२ वर्षीय छोरा अमरेशकुमार यादव र गोलबजार नगरपालिका–१० निवासी बद्री यादवका करिब २० वर्षीय छोरा श्रीदेव यादवको मृत्यु भएको हो ।
चोहर्वाबाट सिरहातर्फ आउदै गरेको नेपाल विद्युत् प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ना.१ घ ५५३ नम्बरको ट्रक र सिरहाबाट चोहर्वातर्फ जादै गरेको स.९ प ७३५० नम्बरको मोटरसाइकल बिहीबार बिहान करिब १० बजे आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पु¥याएका थिए । तर, अस्पताल पुगेपछि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।
दुर्घटनापछि ट्रक चालक महोत्तरीको मनरासिसवा नगरपालिका–८ निवासी करिब ३८ वर्षीय मुकेशकुमार रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै सवारीसाधन प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय