सिरहा । सिरहाको सिरहा नगरपालिका–११ भलुवाहीमा विद्युत् प्राधिकरणको ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी रमेशबहादुर पालका अनुसार आज (बिहिबार) बिहान करिब १० बजे चौहर्वाबाट सिरहातर्फ आउँदै गरेको नेपाल विद्युत् प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ना.१ घ ५५३ नम्बरको ट्रक र सिरहाबाट चौहर्वातर्फ जाँदै गरेको स.९ प ७३५० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना पुरुष गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पुर्‍याइए पनि अस्पताल पुग्नुअघि नै मृत्यु भइसकेको अस्पतालका चिकित्सक डा. सुदेश यादवले जानकारी दिएका छन्।
मृतक दुवै जनाको पहिचान खुल्न बाँकी रहेको छ। उनीहरूको शव परीक्षण (पोस्टमार्टम) का लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ।
दुर्घटनापछि ट्रक चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुवै सवारीसाधन प्रहरीको नियन्त्रणमा रहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय