शुभ नारायण कामती
सिरहा । सिरहाको लहान नगरपालिका–३ ठाडी रोडबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले १२३ बोतल कोरेक्स सी लागुऔषध बरामद गर्नुका साथै स्कारपियो चालकलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हे.क्वा. सिरहाका गणपति सशस्त्र प्रहरी निरीक्षक सुमनजंग थापा क्षेत्रीका अनुसार बुधबार बिहान करिब ८ः१५ बजे विशेष सूचनाका आधारमा लहानस्थित सुरक्षा बेसबाट खटिएको ११ जना र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको नौजनाको संयुक्त टोलीले स १ च १४१४ नम्बरको स्कारपियो गाडी नियन्त्रणमा लिएको थियो ।
गाडी र चालकलाई सुरक्षा बेस लहानमा लगेर जाँच गर्दा १०० मिलिलिटरका १२३ बोतल कोरेक्स सी फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा गाडी चालक लहान नगरपालिका–१० का ४१ वर्षीय विजयकुमार बिसुके रहेका छन् । बरामद लागुऔषध, स्कारपियो गाडी र बिसुकेलाई थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि बिहान १०ः२४ बजे इलाका प्रहरी कार्यालय लहानमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।




