सिरहा । सशस्त्र प्रहरीले सिरहाका विभिन्न सीमा क्षेत्रबाट नेपाल–भारत दुवैतर्फ अवैध रूपमा ओसारपसार भइरहेको अवस्थामा २६ लाख २९ हजार ९ सय ९३ रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर, सिरहाका अनुसार सीमा क्षेत्रमा खटिएको टोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको तथा भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा ती सामान बरामद गरेको हो ।
बरामद सामानमा मोटरसाइकल, लत्ताकपडा, कस्मेटिक सामग्री, किराना सामान, विभिन्न प्रकारका मदिरा, पेय पदार्थ, हार्डवेयर सामग्री तथा बीउबिजन रहेका छन् ।
बरामद गरिएका सामानको कुल मूल्य २६ लाख २९ हजार ९ सय ९३ रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर, सिरहाका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापा (क्षेत्री) ले जानकारी दिए ।
उनका अनुसार बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सिरहा भन्सार कार्यालयमा दाखिला गरिएको छ ।
खुला सीमा क्षेत्रबाट हुने अवैध ओसारपसार तथा चोरी–पैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी, गस्ती र चेकजाँचलाई निरन्तरता दिएको जनाएको छ ।




