काठमाडौं। विगत दुई सातादेखि काठमाडौंको माइतीघर मण्डलामा जारी दृष्टिविहीन समुदायको धर्ना तथा आन्दोलन तत्कालका लागि स्थगित भएको छ।
महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा सरकारी प्रतिनिधि र आन्दोलनरत पक्षबीच भएको वार्तापछि सहमति जुटेसँगै आन्दोलनका कार्यक्रमहरू रोकिएका हुन्।

सरकारले दृष्टिविहीन समुदायले उठाएका जायज मागहरूलाई अन्तरमन्त्रालय समन्वय मार्फत सम्बोधन गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको छ।
मन्त्रालयमा भएको सहमतिअनुसार माइतीघर मण्डलामा सञ्चालन भइरहेको धर्ना कार्यक्रमलाई तत्काल स्थगित गरिएको छ। यसका साथै, सरकार र आन्दोलनरत पक्षबीच दृष्टिविहीन समुदायको दैनिक जीविकोपार्जनसँग जोडिएको महत्त्वपूर्ण विषयमा समेत सहमति जुटेको छ।
दृष्टिविहीन समुदायका मुख्य मागहरू पूर्ण रूपमा सम्बोधन नभएसम्म र आगामी साउन मसान्तसम्मका लागि उनीहरूले सार्वजनिक स्थानमा गर्दै आएका कला, सांगीतिक प्रस्तुति एवं जीविकोपार्जनका अन्य गतिविधिहरूमा कुनै पनि प्रकारको रोकतोक वा अवरोध नगरिने निर्णय भएको छ।
यस सहमतिसँगै दृष्टिविहीन व्यक्तिहरूले हाल सञ्चालन गरिरहेका स्थानहरूमै आफ्ना सांगीतिक तथा जीविकोपार्जनका गतिविधिहरू निर्वाध रूपमा निरन्तरता दिन पाउनेछन्।
सरकारी पक्षबाट माग सम्बोधनका लागि सकारात्मक पहलकदमी सुरु भएको र सडकमा गीत गाएर गुजारा चलाउने कार्यमा तत्कालका लागि अवरोध हटेपछि दृष्टिविहीन समुदायले आन्दोलन फिर्ता लिएका हुन्।



