सिरहा । स्थानीय तहमा कार्यरत नगर प्रहरीको विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सिरहास्थित सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टरले २१ दिने विपद् व्यवस्थापन स्वयंसेवक तालिम सुरु गरेको छ ।
सिरहा नगरपालिका–१९ सन्हैठास्थित गण हेडक्वार्टरमा सञ्चालन भएको तालिममा सिरहा नगरपालिकाका २४ तथा गोलबजार नगरपालिकाका सात गरी ३१ जना नगर प्रहरी सहभागी रहेका छन् । तालिम आगामी २१ दिनसम्म सञ्चालन हुने गण प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाले जानकारी दिए ।
उनका अनुसार तालिममा जलजन्य विपद्, आगलागीलगायतका प्रकोपका बेला आवश्यक खोज तथा उद्धार, प्राथमिक उपचार, राहत व्यवस्थापन, आगलागी नियन्त्रण तथा विपद् प्रतिकार्यसम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराइनेछ ।
तालिमअन्तर्गत अत्यधिक वर्षापछि हुने डुबान, बाढीमा फसेकाको उद्धार, पुनःस्थापना तथा वाटर बोट सञ्चालनसम्बन्धी प्रयोगात्मक अभ्यास गण परिसरभित्र रहेको पोखरीमा गरिनेछ । आगलागी नियन्त्रण तथा विपद् व्यवस्थापनसम्बन्धी अभ्यास भने सिरहा सदरमुकामस्थित विपद् व्यवस्थापन सुरक्षा बेसमा सञ्चालन गरिने जनाइएको छ ।
सशस्त्र प्रहरी उपरीक्षक थापाले विपद्सम्बन्धी पहिलो सूचना प्रायः स्थानीय तहमा आउने र प्रारम्भिक उद्धार तथा प्रतिकार्यमा नगर प्रहरी नै सबैभन्दा पहिले परिचालन हुने भएकाले उनीहरूको क्षमता अभिवृद्धि गर्न तालिम सञ्चालन गरिएको बताए । उनका अनुसार यसबाट विपद्का समयमा छिटो, प्रभावकारी र समन्वयात्मक सेवा प्रवाहमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल र स्थानीय तहको समन्वयमा सञ्चालन गरिएको यो तालिम पहिलो चरणमा विपद्को उच्च जोखिममा रहेका सिरहा र गोलबजार नगरपालिकाका नगर प्रहरीलाई लक्षित गरिएको हो ।
गण हेडक्वार्टरका अनुसार दोस्रो चरणमा लहान, धनगढीमाई र मिर्चैया नगरपालिकामा कार्यरत नगर प्रहरीका लागि पनि यस्तै विपद् व्यवस्थापन स्वयंसेवक तालिम सञ्चालन गर्ने तयारी भइरहेको छ ।
स्थानीय तहमा विपद् व्यवस्थापनको प्रभावकारिता बढाउन र उद्धार कार्यलाई व्यवस्थित बनाउन यस्तो तालिम उपयोगी हुने विश्वास सशस्त्र प्रहरी बलले व्यक्त गरेको छ ।




