लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण धानखेतीलाई आधुनिक, व्यावसायिक तथा जलवायुमैत्री बनाउनुपर्ने बताएका छन्।
राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ को अवसरमा दिएको शुभकामना सन्देशमा उनले बदलिँदो जलवायु र मौसमको अनिश्चितताबीच नवीन प्रविधिको प्रयोग, वैज्ञानिक खेती प्रणाली तथा प्रभावकारी व्यवस्थापनमार्फत उत्पादन वृद्धि गर्न सकिने धारणा व्यक्त गरेका छन्।

मुख्यमन्त्री आचार्यले कृषि क्षेत्रको आधुनिकीकरण, धान उत्पादन वृद्धि र खाद्य आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारालाई व्यवहारमा उतार्दै कृषि उत्पादन र उत्पादकत्व बढाउने दिशामा प्रदेश सरकारले विभिन्न कार्यक्रम गरिरहेको उनको भनाइ छ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले कृषि क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा लिँदै यान्त्रीकरण, व्यवसायीकरण र बजारीकरणलाई प्राथमिकतामा राखेको बताए।
उनले सन्देशमा भनेका छन्, ‘साना तथा सीमान्तकृत किसानलाई विशेष प्राथमिकता दिँदै कृषि उत्पादन वृद्धि, खेतीयोग्य जमिनको सदुपयोग, सिँचाइ सुविधाको विस्तार तथा समयमै गुणस्तरीय बिउ र मल उपलब्ध गराउन सङ्घ सरकार, स्थानीय तह र सम्बन्धित निकायसँग प्रभावकारी समन्वय र सहकार्य भइरहेकोछ।’
मुख्यमन्त्री आचार्यले प्रविधिमैत्री खेती प्रणालीको विस्तार र उत्पादनसँगै मूल्य शृङ्खलाको विकासमार्फत कृषिलाई सम्मानित, मर्यादित र लाभदायक पेसाका रूपमा स्थापित गर्न प्रदेश सरकार निरन्तर लागि परेको बताएका छन्।



