सिमरा : बाराको पचरौता नगरपालिका–४ बेल्दारीमा सर्पले डसेर १९ महिने बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय संजय रामका छोरा धनजय रहेका छन् । आमासँगै खेतमा गएका बालकलाई सर्पले डसेको र उपचारका लागि अस्पताल ल्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

घलेका अनुसार स्थानीय रवीन्द्र यादवको खेतमा ज्यालादारी गर्न गएकी आमा सोनापती देवीले बालकलाई समेत लिएर गएकी थिइन् । सोनापती खेतमा काम गरिरहेका बेला खेलिरहेका बालकलाई सर्पले डसेको प्रहरीको भनाई छ । घटना लगत्तै बालकलाई प्रादेशिक अस्पताल कलैया ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । बालकको शव परिवारले बुझेका छन् ।

बाराका प्रहरी प्रवक्ता घलेले गर्मीको समयमा सर्पदंशका घटना बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले बालबालिका एक्लै नछोड्न, खेतबारी, झाडी भएको स्थानमा काम गर्दा सावधानी अपनाउन, झुल लगाएर सुत्न, घर वरपर सफा राख्न अनुरोध गरेका छन् । घलेले सर्पदंश भएको अवस्थामा झारफुकमा नलागी तत्काल नजिकको स्वास्थ्य संस्थामा पुगेर उपचार गराउन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय