काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) को हलचोकस्थित मुख्यालयमा बुधबार राति भएको आगलागी घटना दिन बित्दै जाँदा झन् रहस्यमय र शंकास्पद बन्दै गएको छ। आगलागीको वास्तविक कारणबारे स्पष्ट जानकारी सार्वजनिक नगरिएको मात्र होइन, घटनासम्बन्धी तथ्य बाहिर नआओस् भन्ने प्रयाससमेत भएको आरोप स्रोतहरूले लगाएका छन्।

एपीएफ मुख्यालय स्रोतका अनुसार प्रारम्भिक रूपमा आगलागी मोटरसाइकलबाट सुरु भएको जानकारी दिइएको थियो। तर, केही समयपछि आगलागीको स्रोत भनिएको मोटरसाइकल नै सकुशल अवस्थामा भेटिएपछि आधिकारिक वृत्तले ईभी भ्यानबाट आगलागी सुरु भएको नयाँ दाबी अघि सारेको छ। एउटै घटनामा छोटो समयमै फरक–फरक विवरण सार्वजनिक हुनुले आगलागीको वास्तविक कारणमाथि थप प्रश्न खडा गरेको छ।

स्रोतका अनुसार मुख्यालयले आगलागीबारे तथ्य बाहिर नल्याउन मातहतका निकायलाई मौखिक निर्देशन दिएको छ। घटनाको कारण पत्ता लगाउन केन्द्रित हुनुपर्ने अवस्थामा सूचना नियन्त्रण गर्ने प्रयास भएको आरोप पनि लागिरहेको छ।

आगलागीबाट एपीएफका उच्च अधिकारी एआईजी गणेश ठाडा मगरले प्रयोग गर्ने सरकारी गाडी पूर्ण रूपमा जलेर नष्ट भएको छ। त्यस्तै अन्य कम्तीमा सात वटा सवारी साधन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने दर्जनौँ सवारी साधनमा आंशिक क्षति पुगेको बताइएको छ। प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ।

एमटी शाखाको पार्किङ क्षेत्रमा राखिएका सवारी साधनमा सामान्य अवस्थामा आगलागी हुन सक्ने सम्भावना न्यून रहेको दाबी त्यहाँ कार्यरत केही अधिकारीहरूको छ। मुख्यालयकै एक उच्च अधिकारीका अनुसार यति ठूलो क्षति भएको घटनामा हालसम्म औपचारिक आन्तरिक छानबिन समिति गठन नभएको अवस्था स्वयंले अनेक आशंका जन्माएको छ।

घटनाको अर्को रोचक पक्ष भने आगलागीको तस्वीरसँग जोडिएको छ। मुख्यालयले घटना बाहिर नल्याउने प्रयास गरेको बताइए पनि आगलागी सुरु भएको केही मिनेटमै घटनास्थलका तस्वीर विभिन्न सञ्चारमाध्यमसम्म पुगेका थिए। त्यसपछि आगलागीको कारण र क्षतिको यथार्थ खोज्नुभन्दा तस्वीर सार्वजनिक गर्ने कर्मचारीको खोजीमा नेतृत्व बढी केन्द्रित भएको आरोप स्रोतहरूले लगाएका छन्।

सुरक्षा निकायको केन्द्रीय मुख्यालयभित्र भएको यति ठूलो आगलागी घटनामा हालसम्म विस्तृत प्राविधिक प्रतिवेदन सार्वजनिक गरिएको छैन। आगलागीको वास्तविक कारण के हो ,प्रारम्भिक विवरण किन फेरियोरु छानबिन किन सुरु भएनरु र यति ठूलो क्षतिपछि सूचना किन नियन्त्रण गर्न खोजियो, भन्ने प्रश्नहरू अहिले थप गम्भीर बनेका छन्।

यसबीच एपीएफ नेतृत्वले भने आगलागीको कारणबारे प्राविधिक मूल्याङ्कन जारी रहेको जनाएको छ। तर घटनाको २४ घण्टा बितिसक्दा पनि आधिकारिक र विश्वसनीय निष्कर्ष सार्वजनिक हुन नसक्दा आगलागीको रहस्य झन् गहिरिँदै गएको देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय