काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा भावुक भिडियो पोस्ट गरेपछि सम्पर्कविहीन बनेकी शोभा पाठकलाई प्रहरीले उद्धार गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार पाठकलाई काठमाडौँको वनस्थली क्षेत्रबाट उद्धार गरिएको हो । उनले शनिबार राति सामाजिक सञ्जालमा भावुक गीतसहित रुँदै गरेको भिडियो पोस्ट गरेकी थिइन्, त्यसपछि उनको अवस्थाबारे चासो र चिन्ता बढेको थियो ।

प्रहरीले आइतबार बिहान करिब ९:१५ बजे पाठकलाई फेला पारी उद्धार गरेको जनाएको छ । उद्धारपछि उनलाई मनोसामाजिक परामर्श तथा स्वास्थ्य परीक्षणका लागि मनमोहन अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
एसपी भट्टराईका अनुसार घटनाबारे थप बुझ्ने र आवश्यक परामर्श प्रदान गर्ने प्रक्रिया जारी छ । प्रहरीले उनका परिवारका सदस्यलाई समेत सम्पर्कमा बोलाएको छ ।
पाठकले पछिल्लो समय महेश बस्नेत लाई कानुनी दायरामा ल्याउनुपर्ने माग सार्वजनिक रूपमा उठाउँदै आएकी थिइन् ।
शनिबार राति फेसबुकमा पोस्ट गरिएको भिडियोमा ‘ए साथी सम्झनामा आऊ है, तिम्रो लागि संसारै रोयो तर तिमी नरोई नरोई जाऊ है’ भन्ने गीतको पृष्ठभूमिमा उनी भावुक अवस्थामा देखिएकी थिइन् ।



