काठमाडौँ । मधेस प्रदेशको सरकारबाट जनमत पार्टीले आफ्नो समर्थन फिर्ता लिएसँगै नयाँ सरकार गठनका लागि दौडधपु सुरु भएको छ । त्यसमा सबैभन्दा अगाडि जनता समाजवादी पार्टी नेपाल देखिएको छ ।

जसपा नेपालले एमालेसँग मिलेर सरकार बनाउने गृहकार्य सुरु गरिसकेको छ । जसपा नेपाल, मधेस प्रदेशका शीर्ष नेताहरू यतिखेर काठमाडौँमा छन् । उनीहरू आन्तरिक तयारीमा जुटेका छन् । जसपा नेपालका एक नेताले भने, ‘एमालेले हामीलाई समर्थन गर्ने भनिसकेको छ, अब जसपा नेपालबाट सरकारको नेतृत्व कसले गर्ने भन्नेमा आन्तरिक छलफल चलिरहेको छ ।

’मुख्यमन्त्रीको दौडमा जनता समाजवादी पार्टी नेपालबाट जितेन्द्र सोनल, सरोज यादव, लालबाबु राउतलगातका नेता छन् । यी तीनै जना यसअघि मुख्यमन्त्री भइसकेका छन् । अहिले मुख्यमन्त्रीमा दाबी गर्नेमा उनीहरू नै अग्रपंक्तिमा रहेको जसपा नेपाल स्रोतले जनाएको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग मुख्यमन्त्री पदका आकाङ्क्षी नेताहरूले आन्तरिक छलफल गरिरहेको स्रोत बताउँछ । अर्कोतिर जसपा नेपालकै केही नेता भने सरकारमा सहभागी हुन नहुने भन्दै लबिङ गरिरहेका छन् । कतिपय नेताले त एमालेसँग मिलेर कुनै पनि हालतमा सरकार बनाउनु हुँदैन भनेर नेतृत्वलाई दबाब दिएका छन् । कतिपयले प्रदेश सभा निर्वाचनका लागि झन्डै एक वर्षमात्र बाँकी रहेकाले सरकारबाट अलग भएर चुनावको तयारीमा लाग्नुपर्ने सुझाव दिइरहेका छन् ।

सरकारमा जाने–नजाने विषयमा जसपा नेपालभित्रै विवाद देखिएको छ । जसपा नेपाल र लोसपा नेपालबिच एकता भए पनि अझै त्यसले पूर्णता पाएको छैन । केन्द्रमा कानुनतः पार्टी एकता भए पनि मधेस प्रदेशमा दुवै दल आफ्नो अस्तित्वमा छन् । दुवै दलले सरकारको नेतृत्वमा दाबी गरिरहेका छन् । यस अवस्थामा सरकारमा जाने कि नजाने भन्नेमा पार्टी प्रस्ट भइसकेको छैन ।

एमालेले सरकार गठनका लागि कसलाई समर्थन गर्ने भन्ने पनि टुङ्गो लाग्न बाँकी छ । एमाले मधेस प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री सरोज यादवले आफू सरकार बनाउने, गिराउने पक्षमा नरहेको बताए । ‘गठबन्धनमै कुरा मिलेको छैन, उनीहरूभित्र विवाद भएको सुनिएको छ,’ यादवले भने, ‘हामी सरकार बनाउने वा ढाल्ने खेलमा छैनौँ । कांग्रेस पक्षबाट सहयोग गर्न प्रस्ताव आएको छ । अर्कोतिर जसपा नेपाल, लोसपा नेपाललगायतका दलबाट पनि कुरा आइरहेको छ, तर हामीले कसैलाई केही भनेका छैनौँ ।’

अर्को सरकार बनाउने अवस्था आएको खण्डमा मात्र एमालेले कसलाई सहयोग गर्ने भन्नेबारे निर्णय लिने यादवले प्रस्ट पारे । नयाँ सरकारका लागि आफूले नेतृत्वमा दाबी नगरेको पनि उनले बताए । उनले भने, ‘हामीले मुख्यमन्त्री खोजेका छैनौँ । आवश्यक परे कुनै दललाई सहयोग गर्न सक्छौँ, तर सशर्त सहयोगमात्र गर्छौं । कांग्रेसलाई दुई पटक सहयोग गरे पनि प्रदेशमा मुख्यमन्त्री छ भन्ने अभास पनि भएन ।’

त्यसैले अब कसैलाई सहयोग गर्दा यो–यो काम गर्ने, यसरी गर्ने भनेर लिखित सहमति गरेपछि मात्र सहकार्यका लागि अघि बढ्ने यादवले बताए ।

जसपा नेपालका मधेस प्रदेश संसदीय दलका नेता सरोज यादवले अहिले सरकारमा जाने वा सरकार छाड्नेबारे कुरा अघि नबढेको बताए । पार्टीमा यस विषयमा छलफल हुन बाँकी रहेको उनको भनाइ थियो ।

‘को मुख्यमन्त्री बन्ने कि नबन्ने कुरा कतै चर्चा पनि छैन । अहिले अर्को सरकार बन्ने–नबन्ने कुनै टुङ्गो छैन । त्यसअघि कसरी मुख्यमन्त्री को बन्ने भन्ने कुरा हुन्छ ?’ उनले भने ।

यादवका अनुसार प्रदेशमा विकासका काम ठप्प छन्, विकास खर्च न्यून भएको छ । नीति तथा कार्यक्रममा तय भएको, बजेटले दिइसकेको काम पनि हुन नसकेको जिकिर गर्दै उनले त्यसको जिम्मेवार मुख्यमन्त्री नै रहेको बताए । उनले भने, ‘यदि कुनै मन्त्रीले काम गरेको छैन भने मन्त्रीलाई हटाउनुपर्थ्यो, तर सम्पूर्ण कुराको जिम्मेवार मुख्यमन्त्री नै हुन्छ ।’

जसपा नेपालका नेता शैलेन्द्र साहले मधेस प्रदेशको सरकार बनाउनुअघि लोसपा नेपालसँगको एकता प्रक्रिया टुङ्गो लगाइने बताए । उनले भने, ‘मधेस प्रदेशमा सरकार बन्नुअघि लोसपा र जसपा नेपालको बिचको एकता टुङ्गो लाग्छ । त्यसपछि मात्र सरकार बनाउने–नबनाउने कुरा हुन्छ ।’ दुई दलको एकतालाई पूर्णता दिन आफूहरू लागेको उनले बताए ।

मधेस प्रदेशसभामा १२ सांसद रहेको जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिइसकेको छ । यद्यपि जनमत पार्टीबाट अर्थमन्त्री रहेका महेश यादव र वसन्त कुशवाहा अझै सरकारमै छन् । जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको विषयमा उनीहरू सहमत छैनन् ।

जनमत पार्टीले मधेस प्रदेशका संसदीय दलका नेता रहेका महेश यादवलाई हटाएर पार्टीमा महासचिव चन्दन सिंहलाई दलको नेता चयन गरेको छ । जनमत पार्टीको आन्तरिक विवादका कारण सरकारमा असर परेको छ । तर मुख्यमन्त्री कृष्ण यादवले भने, ‘जनमत पार्टीको विवादका कारण सरकारमा कुनै असर परेको छैन, गठबन्धन दलका सबै दलले हालसम्म साथ दिइरहेका छन् र साथ नै रहने कुरा भएको     छ ।’

जसपा नेपाल र लोसपा नेपालबिच एकता भएसँगै मधेस प्रदेशमा जसपा नेपाल सबैभन्दा ठुलो बनेको छ । त्यही भएर जसपा नेपालले सरकारको नेतृत्वमा दाबी गरेको छ । जसपा नेपालबाट दुई र लोसपाबाट एक जना मन्त्री सरकारमा छन् । जसपा नेपालको १८ र लोसपा नेपालको ८ सांसद छन् ।

एमालेका २४, कांग्रेसका २२, नेकपा (माओवादी र नेकपा एकीकृत समाजवादीका १५, जनमत पार्टीका १२, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादी पार्टीका एक–एक जना सदस्य छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय