सिरहा । प्रेस मंच नेपालले आफ्ना केन्द्रीय सदस्य तथा मधेश ब्यूरो प्रमुख शिव अधिकारी यदुवंशीमाथि आएको ज्यान मार्ने धम्कीप्रति गम्भीर आपत्ति जनाउँदै तीव्र निन्दा र भत्र्सना गरेको छ । संगठनले उक्त घटनालाई प्रेस स्वतन्त्रतामाथि भएको प्रत्यक्ष आक्रमणका रूपमा व्याख्या गर्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेको छ ।
प्रेस मंच नेपाल केन्द्रीय उप–महासचिव बैजनाथ यादवद्धारा जारी गरेको प्रेस विज्ञप्तिमा यदुवंशीले संवेदनशील विषयमा समाचार प्रकाशन गरेकै कारण अज्ञात व्यक्तिबाट ‘मारिदिने’ धम्की आउनु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको उल्लेख गरिएको छ । विज्ञप्तिअनुसार भारतको पटना क्षेत्रबाट आएको भनिएको स्पाम कलमार्फत हिन्दी भाषामा “समाचार लेखेर सेटिङ बिगा¥यौ, १० मिनेटमै गोली हान्छु” भन्ने धम्की दिइएको थियो, जसलाई संगठनले गम्भीर आपराधिक क्रियाकलापको रूपमा लिएको छ ।
प्रेस मंच नेपालले यस्ता धम्कीपूर्ण गतिविधिले स्वतन्त्र प्रेसलाई त्रसित पार्ने र समाजमा दण्डहीनता मौलाउने खतरा बढाउने चेतावनी दिएको छ । संगठनले सम्बन्धित निकाय, विशेषगरी नेपाल प्रहरीलाई घटनाको उच्च प्राथमिकताका साथ निष्पक्ष, पारदर्शी र प्रभावकारी अनुसन्धान गर्न आग्रह गरेको छ ।
विज्ञप्तिमार्फत प्रेस मंच नेपालले तीन प्रमुख माग अघि सारेको छ—धम्कीमा संलग्न व्यक्ति वा समूहको तत्काल पहिचान गरी कडा कारबाही गरियोस्, पत्रकार यदुवंशीको सुरक्षा सुनिश्चित गरियोस्, र पत्रकारमाथि हुने यस्ता घटनामा शून्य सहनशीलता अपनाइयोस् ।
संगठनले सञ्चारकर्मीलाई डर, धम्की वा दबाबमार्फत सत्य सार्वजनिक गर्ने प्रक्रियामा अवरोध पु¥याउने जोसुकैलाई पनि उन्मुक्ति दिन नहुने स्पष्ट पारेको छ । “स्वतन्त्र प्रेसमाथिको हमला, लोकतन्त्रमाथिको हमला हो,” भन्ने नारासहित प्रेस मंच नेपालले सञ्चारकर्मीहरूको पेशागत सुरक्षामा आफू प्रतिबद्ध रहेको जनाएको छ ।
यस्तै, दोषीमाथि तत्काल कारबाही नभए कडा आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत संगठनले दिएको छ ।




