काठमाडौं । चैत १३ गते रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा मन्त्रिपरिषद् गठन हुँदा धेरैलाई चकित पार्ने एउटा निर्णय थियो — गृहमन्त्रीमा सुधन गुरुङ ।
भदौ २३ र २४ गतेको आन्दोलन र विध्वंसपछि एकाएक चर्चामा आएका गुरुङ गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी हुँदासम्म नै धेरैको चासोको केन्द्रमा थिए । गृहमन्त्री नै हुने भएपछि त्यसले राजनीतिमा थप रौनकता ल्याइदिएको थियो ।

त्यसमा पनि मन्त्रिपरिषद्मा उनलाई दिइएको वरीयताले धेरैको ध्यान खिचेको थियो । उनलाई मन्त्रिपरिषद्को तेस्रो वरीयतामा दिइएको थियो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दोस्रो वरीयता दिइएको थियो भने गुरुङलाई तेस्रो स्थानमा राखिएको थियो ।
त्यसको ११ दिनपछि चैत २४ गते उनको वरीयता क्रम घटाएर पाँचौँमा पुर्याइएको थियो ।
अर्थमन्त्री वाग्लेको वरीयतालाई यथावत् राखेर चौथो वरीयतामा रहेका परराष्ट्रमन्त्री शिशिर खनाललाई तेस्रो र अघिल्लो सरकारको पालामा मन्त्री भइसकेका नवनियुक्त ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई छैटौँबाट चौथो वरीयतामा राखिएको थियो । तेस्रो वरीयतामा रहेका गुरुङ एकैपटक पाँचौँमा झरेका थिए ।



