काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले पश्चिम एसियामा जारी लडाइँ तुरुन्त रोक्न अपिल गरेका छन् । उनले यो लडाइँ एउटा ठूलो युद्धमा परिणत हुने जोखिम रहेको चेतावनी दिएका छन् ।
“हामी एउटा यस्तो बृहत्तर युद्धको संघारमा छौँ, जसले मध्यपूर्वलाई मात्र नभई विश्वभरि नै नाटकीय प्रभाव पार्नेछ,” उनले बिहीबार न्युयोर्कमा पत्रकारहरूसँग भने । उनले अगाडि भने, “मृत्यु र विनाशको यो श्रृंखला अब अन्त्य हुनैपर्छ ।”

यो अपिल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी केही हप्तासम्म आफ्ना सेनाले इरानमाथि अत्यन्तै कडा प्रहार गरिरहने बताएको भोलिपल्ट आएको हो । इरानले पनि यसको जवाफमा अमेरिका र इजरायलविरुद्ध विध्वंसात्मक हमला गर्ने बताएको छ ।
गुटेरेसले होर्मुज जलमार्ग बन्द भएकोमा पनि दुःख व्यक्त गरे । यसले विश्वव्यापी ऊर्जा सुरक्षा र खाद्य आपूर्तिमा गम्भीर असर पारेको छ । “यदि होर्मुज जलमार्गको घाँटी निमोठियो भने, विश्वका सबैभन्दा गरिब र जोखिममा रहेका मानिसहरूले सास फेर्न समेत पाउने छैनन्,” राष्ट्रसंघका प्रमुखले बताए ।



