काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३६ घण्टाअघि मात्र इरानलाई पूर्ण रूपमा बर्बाद गर्ने धम्की दिएका थिए । तर, अचानक उनी युद्धविराम र सार्थक वार्ताको बाटोतर्फ मोडिएका छन् । ट्रम्प आफ्नै जालमा फसेका छन् ।
यो युद्धमा अमेरिकाले दैनिक करिब १.३८ अर्ब डलर खर्च गर्नु परिरहेको छ । सुरुआती ६ दिनमा ११.३ अर्ब डलर र त्यसपछिका १२ दिनमा १६.५ अर्ब डलर खर्च भइसकेको छ । पेन्टागनले थप २०० अर्ब डलरभन्दा बढी रकम माग गरेको छ, जसलाई कंग्रेस (संसद्) बाट पारित गराउनुपर्नेछ, तर यसको सम्भावना निकै कम देखिन्छ ।

नाटोको दुरी र विश्वव्यापी अभूतपूर्व ऊर्जा संकट
‘कायर’ र ‘कागजी बाघ’ जस्ता सम्बोधन सुन्दा पनि नाटो लगायतका सहयोगी देशहरूले साथ दिएका छैनन् । २२ देशले हर्मोज जलसन्धिमा समन्वयका लागि हस्ताक्षर गरे पनि कसैले युद्धपोत पठाएनन् । कतारमा एलएनजी आपूर्ति बन्द हुनु र पाँच वर्षसम्मको अभूतपूर्व संकटको डरले युरोपमा ग्यासको मूल्य ३५ प्रतिशतले बढेको छ । जापानले आफ्नो रणनीतिक भण्डार निकाल्नुपरेको छ । विचलित अमेरिकाले अन्जानमै चीन र रुसलाई बलियो बनाइरहेको देखिन्छ ।
खाडी देशहरूमा अशान्तिको अर्थ तेलको मूल्यमा भारी वृद्धि हुनु हो । यसको असर विश्वभर देखिन थालेको छ र अमेरिकी अर्थतन्त्रमा सिधै प्रभाव पर्न थालेको छ ।
हिलियमदेखि अर्धचालकसम्मको संकट
ताइवानले आफ्नो ऊर्जाको करिब ९७ प्रतिशत आयात गर्छ र उसको एलएनजी भण्डार केवल ११ दिनका लागि मात्र पर्याप्त छ । कतारले विश्वव्यापी हिलियमको करिब एकतिहाइ हिस्सा आपूर्ति गर्छ, जुन अर्धचालक चिप निर्माणका लागि आवश्यक हुन्छ । हिलियम होर्मुज जलमार्गनजिकै भण्डारण गरिएको छ ।
यसबाहेक मलको पनि संकट देखिन सक्छ । प्रत्येक एनभिडिया जीपीयू, एप्पल चिप र कृत्रिम बुद्धिमत्ता समूहहरू ताइवानको ह्सिनचुस्थित उत्पादन संयन्त्रमा निर्भर छन्, जहाँ ग्यासको उपलब्धता केही दिनका लागि मात्र बाँकी छ । ऊर्जा संकटका कारण प्रविधि क्षेत्र ठप्प हुँदा सात प्रमुख देशहरूले अर्बौंको नोक्सानी बेहोरेका छन् ।
इतिहासकै सबैभन्दा भीषण ऊर्जा संकट
अन्तर्राष्ट्रिय उर्जा एजेन्सीका अनुसार, नौ देशका ४० वटा ऊर्जा भण्डारहरू युद्धमा नराम्ररी क्षतिग्रस्त भएका छन् । विश्वव्यापी तेल आपूर्ति दैनिक ११ मिलियन ब्यारेलले घटेको छ, जुन सन् १९७० को दशकको संकटभन्दा पनि गम्भीर हो । एजेन्सीले यस युद्धलाई आधुनिक इतिहासकै सबैभन्दा भीषण ऊर्जा संकट भनेको छ । अमेरिकी केन्द्रीय बैंकले ब्याजदर कटौतीको सम्भावना मात्र होइन, अमेरिकीहरूको राहतको आशा पनि समाप्त गरिदिएको छ ।
खाडी देशहरूको दबाब र इरानको क्षमता
साउदी अरब र संयुक्त अरब इमिरेट्स जस्ता देशहरू पूर्ण युद्ध चाहँदैनन् । उनीहरू असुरक्षित महसुस गरिरहेका छन् र यो कुरा उनीहरूले ट्रम्पलाई स्पष्ट पारिसकेका छन् । अर्कोतर्फ, इरान सजिलो निसाना होइन । उसले मिसाइल, प्रोक्सी हतियार र तेल मार्गहरू अवरुद्ध गरेर बराबरीको जवाफी कारबाही गर्ने क्षमता देखाएको छ ।
अमेरिकी जनताको असन्तोष र ट्रम्पको छवि
अमेरिकामा पेट्रोलको मूल्य प्रतिग्यालिन ९३ सेन्टले बढेको छ । ६६ प्रतिशत अमेरिकीहरूले यसलाई ट्रम्पको ‘आफ्नो मर्जीको युद्ध’ भनेका छन् भने ६० प्रतिशत यसको विरोधमा छन् । ५७ प्रतिशत मानिसहरूले अवस्था बिग्रँदै गएको बताएका छन् । ट्रम्प बिनानतिजाको कुनै पनि संघर्ष सहन सक्दैनन्, किनकि उनको छविमा असर पुगेको छ ।
अमेरिकामा युद्ध लामो समयसम्म तन्किने आशंका बढेको छ । ट्रम्प सम्भवतः इतिहासकै त्यस्ता विरलै राष्ट्रपति हुन्, जसको लोकप्रियता युद्धका बेला बढ्नुको साटो उल्टै घटेको छ ।



