सामान्य वर्षा हुँदा नै सिरहा नगरपालिकाका विभिन्न स्थानहरू जलमग्न हुने अवस्था देखिनु अब सामान्य समस्या मात्र होइन, यो गम्भीर चेतावनी हो । सदरमुकाम सिरहा मात्रै नभई नगरपालिका भित्रका २२ वटै वडामा पानी जम्ने समस्या बढ्दै गएको छ । सडकमै पानी जम्दा दैनिक आवतजावत प्रभावित हुनुका साथै रोगको संक्रमण फैलिने जोखिम पनि उत्तिकै बढेको छ । यस्तो अवस्थाले नागरिकको स्वास्थ्य, सुरक्षा र जीवनशैलीमा प्रत्यक्ष असर पारिरहेको छ । वर्षायाम नआउँदै यस प्रकारका समस्या देखिनु, नगरपालिकाको ढल तथा पूर्वाधार व्यवस्थापन कति कमजोर छ भन्ने स्पष्ट संकेत हो । व्यवस्थित ढल निकासको अभाव, सडक निर्माणमा गुणस्तरहीन काम तथा नियमित सरसफाइको कमी यस समस्याका मुख्य कारण हुन् । वर्षा सुरु भएपछि मात्र अस्थायी उपाय अपनाउने प्रवृत्तिले दीर्घकालीन समाधान दिन सक्दैन ।
सिरहा नगरपालिकाले अब आफ्नो कार्यशैलीमा स्पष्ट परिवर्तन ल्याउन आवश्यक छ । योजनाबद्ध ढल व्यवस्थापन, सडक निर्माणमा दीर्घकालीन सोच, तथा नियमित सरसफाइ अभियानलाई प्राथमिकतामा राख्नुपर्छ । साथै, प्रत्येक वडामा स्थानीय स्तरमै समस्या पहिचान गरी समाधान गर्ने संयन्त्र निर्माण गर्नु जरुरी छ । नागरिक सहभागिता बढाउँदै जनचेतना अभिवृद्धि गर्नु पनि उत्तिकै महत्वपूर्ण पक्ष हो । सफा, स्वच्छ र व्यवस्थित शहर निर्माण गर्नु केवल सरकारी दायित्व मात्र होइन, यो नागरिकको आधारभूत अधिकार पनि हो । त्यसैले नगरपालिकाले जिम्मेवारीपूर्वक काम गर्दै विश्वास जित्नुपर्छ । समयमै तयारी र प्रभावकारी कार्यान्वयन हुन सके, सिरहालाई सुरक्षित र व्यवस्थित शहरको रूपमा विकास गर्न असम्भव छैन । सामान्य वर्षाले देखाएको समस्या नै भोलिको ठूलो संकट बन्न सक्छ । त्यसैले सिरहा नगरपालिका समयमै सचेत हुँदै आगामी वर्षायामको तयारीमा जुट्नु आजको आवश्यकता हो ।

सिरहा सदरमुकाममै पानी जम्ने गरेको घटनाले सिरहा नगरपालिकाको समग्र ढल व्यवस्थापन प्रणालीमाथि नै गम्भीर प्रश्न उठाएको छ । १ सय भन्दा वढी निर्वाचित जनप्रतिनिधिले सिरहा नगरपालिकाको निम्ति कति काम गरिरहेको छ वा छैन भन्ने कुरालाई पनि यसले उजागर गरेको छ । वार्षिक रुपमा १ अर्ब वढी बजेट परिचालन गर्ने सिरहा नगरपालिकाले किन यसरी दीर्घकालीन रुपमा बलियो हुने गरी काम गर्न सकिरहेको छैन् । यसको मुख्य जिम्मेवार को हो भन्ने कुरालाई पनि ख्याल गर्नुपर्छ । सिरहा नगरपालिकामा एकातिर सुशासन कमजोर हुनु र अर्कोतिर भौतिक पूर्वाधार पनि दिगो निर्माण नहुनुले गम्भीर सवाल खडा गरेको छ । त्यही भएर सिरहा नगरपालिकाले अब पनि आफ्नो काम गराई शैलीमा परिवर्तन गर्न चुकेमा त्यसको गम्भीर असर स्थानीयवासीलाई चुकाउनु पर्छ । स्थानीयले भोग्दै आएको समस्यालाई भूईतको सरकारको नाताले सिरहा नगरपालिकाले तत्काल समाधान गर्न तर्फ अघि वढ्नुपर्छ । नगरको सौन्दर्यतामाथि नै गम्भीर सवाल पनि खडा गरेको छ । यस कारणले समानय क्षरीमा पनि हिलाम्मे हुने सदरमुकामलाई सुन्दर र व्यवस्थित बनाउन पूर्ण रुपमा काम गर्न सक्नुपर्छ । सिरहा नगरपालिकाका निर्वाचित जनप्रतिनिधि र कर्मचारीले यस विषयलाई गम्भीरतापूर्वक लिएर तत्काल समाधानमा अघि वढ्न जरुरी देखिएको छ ।



